नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवारहरु पराजित भएपछि नैतिक जिम्मेवारी लिंदै उनले राजीनामा दिएका हुन्।
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले भनेका छन्- ‘प्रदेश अध्यक्षको हैसियतले उक्त सबै परिणामको नैतिक जिम्मेवारी लिइ आजैका मितिबाट अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’
त्यसअघि उनले उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटीको भावना र मर्मलाई न्याय गर्न नसकिएको, कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस बमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकिएको र उम्मेदवार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखापरेका समस्या र अन्तरविरोधलाई यथासमयमा सम्बोधन गर्न नसकिएका कारण हार ब्यहोर्नुपरेकोसमेत उल्लेख गरेका छन् ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका बराल गुल्मी क्षेत्र नम्बर १ (२) मा एमालेका चिन्तामणि पाण्डेसँग पराजित भएका थिए । उनी २०७४ सालमा यही क्षेत्रबाट चुनाव जितेर लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्री समेत बनेका थिए । साे प्रदेशसभा सदस्य निर्वाचनमा माओवादीले एमालेसँगको तालमेलमा १९ सिट जितेको थियो। तर, यसपटक नेपाली कांग्रेस सहितको पाँच दलिय सत्ता गठबन्धनमा रहँदा माओवादी केन्द्रले ५ सिटमात्रै जितेको छ।





























प्रतिक्रिया