नेयमार निर्विकल्पः रोमारियो

नेयमार निर्विकल्पः रोमारियो

केन्द्रबिन्दु
0
Shares

अहिले कतारमा २२औं संस्करणको फिफा विश्वकप चलिरहेको छ । संसारभरका खेलप्रेमीहरुको नजर यो संस्करणको विश्वकपको उपाधि कसले लैजान्छ भन्ने जिज्ञासामा अड्किएको छ । जारी विश्वकपमा पहिलो चरणका खेलहरु सम्पन्न भईसकेको छन् । जहाँ निकै अप्रत्यासिलो नतिजाहरु देखिएका छन् । बलियो र दाबेदार मानिएका ठुला राष्ट्रहरु एसियन राष्ट्रहरुका अघि निरिह देखिएका छन् । 

यस्तोमा सर्वाधिक विजेता ब्राजिलले पनि आफ्नो समुहको पहिलो खेल सर्बियासँग खेलिसकेको छ । सो खेलमा ब्राजिलले निकै सङघर्षका साथ २–० ले जित्दा उसको प्रमुख खेलाडी नेयमार जुनियर सर्बियन खेलाडीको ट्याकलबाट घाइते हुँदै खेल मैदानबाट बाहिरिएका थिए । पहिले उनी सामान्य घाइते मात्रै भएको हो की भनी शंका गरिएता पनि उनको खुट्टामा गहिरो चोट लागेका कारण उनले समूह चरणका बाँकी खेल गुमाउने भएका छन् । 

आउँदो खेलमा ब्राजिललाई आफ्नो मुख्य हतियार नेयमारको अति आवश्यक हुनेछ । सोही आवश्यकतालाई मध्ये नजर गर्दै ब्राजिललाई सन् १९९४ मा विश्वकपको उपाधि जिताउन मुख्य भुमिका निभाएका ब्राजिलियन लिजेन्ड रोमारियोले नेयमारलाई ‘द प्लेयर्स ट्रिब्युन खेलकुद पत्रिकामा ब्राजिलका लागि तिम्रो उपस्थिती निकै महत्वपूर्ण रहको छ तिमीले ब्राजिलका लागि विश्वकपको ट्रफी जित्नुपर्छ भन्ने प्रेरणादायी शब्दहरुको प्रयोग गरेर एउटा पत्र लेखेका छन् । 

रोमारियोको पत्र जस्ताको त्यस्तै-   

केही मानिसको बानी नै अरूलाई गाली गर्नु हो। तिमीले पनि तिनीहरूबाट उत्तिकै आलोचना खेपिरहेका छौ। तिमी विशेष क्षण सिर्जना गर्न प्रयत्नशील रहेको कुरा निबिर्सनू। नकारात्मक टिप्पणीबाट किञ्चित निरूत्साहित नहुनू!
तिमीले के गर्ने, के नगर्ने भन्ने नियम सुझाउनका लागि म यो पत्र लेखिरहेको छैन। मेरा अनुभव तिमीलाई सहयोगी बन्न सक्छन् भन्ने मेरो ध्येय हो।
आलोचनाको वर्षा भइरहँदा तिमीले कस्तो अनुभव गरिरहेका छौ, म राम्रोसँग जानकार छु। सन् १९९३ सम्म मैले पनि त्यस्तै परिस्थितिको सामना गरेको थिएँ। मेराबारे असाध्यै निकृष्ट टिप्पणी हुन्थे। 
यो कुरा मजाक होइन नेइमार, पूर्ण सत्य हो। मेरा आनिबानीबारे मैदानबाहिर मानिसहरू कुरा काट्थे। सञ्चारमाध्यममा नकारात्मक टिप्पणी गर्थे। म अनुशासनहीन रहेको प्रमाणित गर्न उनीहरू खुब जोडबल लगाउँथे।
उनीहरूको विचारअनुसार म चल्नुपर्नेझैं गर्थे। म उनीहरूका विचारअनुसार चल्थें भने मैले सायदै धेरै गोल गर्थें, सायदै उत्कृष्ट प्रदर्शन गर्थें। आलोचकका अनुसार नचल्दा तिमीलाई घमण्डी पनि भन्लान्, तर तिमी आत्मविश्वासिलो खेलाडी हो।  
तिमीले झैं फुटबलमा स्थापित हुनका निम्ति मैले पनि निकै संघर्ष गर्नुपर्‍यो। मेरो गृहनगरमा आलोचकका अनुसार चलेको भए, सायदै म यो स्थानमा हुने थिएँ।
त्यसैले साथी तिमी आफ्नो लक्ष्य भेट्नका निम्ति आफू अनुसार चल। हामीले राम्रै कर्म गरे पनि आलोचकहरूले आफ्नो कर्म छोड्ने छैनन्। हाम्रो गतिलो प्रदर्शन देखाएमा हाम्रा स्वभावबारे विपक्षी, समर्थक र मिडियाले पक्कै प्रशंसा गर्नेछन्। एउटा खेलाडीले प्रशंसा आर्जन गर्ने थलो मैदानको कौशलमात्रै हो भन्ने कुरामा तिमी पूर्ण जानकार नै छौ।
तिमीले झैँ मैले पनि युरोपमा खेलें। युरोपमा खेल्दा मैदानका विपक्षी र समर्थकहरू दुबैले मेराबारे समान दृष्टिकोण राखेको पाएँ। उनीहरू मलाई खुबै सम्मान गर्थे। मेरा पालामा पनि मजस्ता स्वभाव भएका पुरूषलाई खराब भन्थे। तिमीलाई पनि उस्तै भनिरहेका छन्। 
आलोचकहरूले हामीलाई खराब भन्दैमा हामी नराम्रा होइनौं। मेरो स्वभावले अरू कसैलाई पनि केही असर पुगेको वा पुर्‍याएको छैन। कसैलाई असर पुगेको छ भने स्वयं मलाई नै परेको छ।
तिमी र तिम्रा समकक्षीलेझैं आफ्नो शरीरलाई माया गर्न जानेको र सिकेको भए विश्वकपमा मैले ब्राजिललाई अझै एउटा जित निकाल्न सक्थें। विश्वकप एउटा यस्तो रणमैदान हो जहाँ गल्ती गर्ने छुट कसैलाई पनि हुँदैन। यो तथ्यबारे समर्थकहरू सम्भवत: जानकार छैनन्। तर, परिणाम आफ्नो पक्षमा पार्नका निम्ति तिमीले गर्ने अद्भुत प्रदर्शनबारे पक्कै जानकार छन्।  
तिमीले बल अघि बढाउँदा मैदानमा पाइलै नराखेका कमेन्टेटरहरू उत्साही हुँदै चिच्याउँछन्। जब तिमी चुक्छौ समर्थकहरू स्तब्ध हुन्छन्। कमेन्टेटरहरू तिमीले स्वार्थी खेलेको भन्न छोड्दैनन्। यो विषयमा तिमी पनि पक्कै जानकार होलाऊ नै, तर म अलि जोड गरेर भन्न चाहन्छु, जस्तोसुकै कौशल भए पनि जतिसुकै अद्भूत प्रर्दशन देखाए पनि एक्लै विजय हासिल गर्न असम्भव छ।

म मेरै अनुभव साट्न चाहन्छु।

सन् १९९४ मा अमेरिका टेक्दा मैले ब्राजिलले विश्वकप जित्छ भनेको थिएँ। ब्राजिलका समर्थकले नै नपत्याउँदा मिडिया जगतले विश्वास गर्ने कुरै भएन। ‘रोमारियो एक्लैले ब्राजिललाई १९९४ को विश्वकप जितायो,’ परिणामपछि मिडिया त यो हेडलाइन लेख्न बाध्य भए। 
मिडियाले लेखअनुसार म एक्लैले विश्वकप जिताएको होइन। यसमा हरेक सदस्यको उत्तिकै योगदान छ। यो सफलतामा उनीहरू उत्तिकै हकदार छन्। हाम्रो साथमा क्लाउडियो टफारल हुन्थेनन् भने नतिजा उल्टिन पनि सक्थ्यो। विश्वकप सुरू हुनु अगावैदेखि क्लाउडियोमाथि आलोचनाको वर्षा भइरहेको थियो। तर फाइनलमा उनको कुशल प्रदर्शनले इटालीले हामीमाथि गोल वर्षाउन सकेन। इटालीको पेनाल्टी प्रहारलाई क्लाउडियोले रोकेकै कारण हामीले विश्वकपको ट्रफी उचाल्यौं।
हाम्रा डिफेन्डरहरू अल्दिर, मार्सियो सान्तोष, डंगा, महिनोको भूमिका उत्तिकै गहन थियो। सेमिफाइनल खेलमा स्वीडेनले हामीलाई हायल-कायल बनाएको थियो। पोस्टसम्म लगेर गरेको प्रहारलाई स्वीडेनका किपरले निष्प्रभावी बनाउँथे। हाम्रा जोर्गिन्होले रक्षापंक्तिलाई मजबुद् राख्दा हामीले धेरै दबाब झेल्नुपरेन।
सम्भवत: मैले तिमीलाई लिओनार्दोबारे भनिराख्नु नपर्ला। नेदरल्याण्डविरूद्धको खेलमा बान्कोले देखाएको कौशलले पनि उत्तिकै योगदान गरेको छ। त्यो टोली सदस्यबीचको मित्रता विशेष थियो। हरेकलाई विश्वकपको मैदानमा उत्रने उत्कट चाहना थियो। चाहना राख्दैमा मैदानमा उत्रन सम्भव थिएन तर राष्ट्रको जितका लागि त्याग गर्न पनि तयार भए।
कप्तान रइले लेफ्ट विङबाट खेलिरहेका मजिन्होलाई मध्यक्रममा अघि बढाए। रक्षापंक्तिमा आवश्यक सुधार गर्दै टोलीलाई सशक्त बनाए।
सम्भवत: त्यस खेल सबैले भुलिसकेका होलान् तर मेरा त्यो भिडन्त अविष्मरणीय खेल हो। जुलाई ४ अमेरिकाको स्वतन्त्रता दिवस हो। घरेलु मैदानमै हामी अमेरिकाको सामना गरिरेहका थियौं।  हामी उसै पनि दबाबमा थियौं, लिओनार्दो नै मैदान बाहिर गएपछि हामीले खेप्नुपरेको दबाबको सीमा नै रहेन। खेल सधैंभर हामीले सोचेजस्तो हुँदैन हाम्रो काबुमा रहँदैन। 
हामी पराजित हुँदा कुन तहको आलोचना हुन्थ्यो म महशुस गर्न सक्थें।
‘ब्राजिल अब फुटबलको देश रहेन। २४ वर्षसम्म जितको खडेरी पार लगाउन नसक्नु कति लज्जाजनक,’ आलोचकहरूले यस्ता धेरै शब्दजाल हामीमाथि फ्याँक्ने थिए।
ब्राजिलका खेलाडीहरूलाई दुत्कार्दै उनीहरूले अर्जेन्टिना नै विश्वकप विजेता हुने भविष्यवाणी गरिरहेका थिए। यस्ता विषय सम्झदै, मैदानमा म आक्रामक भएँ। मध्यक्रमबाट बललाई अघि बढाएँ। अमेरिकी रक्षापंक्तिका ललासले मलाई घेरेका थिए। ललास यति भीमकाय थिए कि सबैको सातो उडाउँथे।
दबाबबीच बललाई नियन्त्रणमा लिइरहेको थिएँ। प्रहारका लागि मैले राम्रो पोजिसन बनाएको थिएँ। तर, मभन्दा राम्रो पोजिसनमा बेबेतो थिए। मैले उनलाई पास दिने निधो गरें। बेबेतोले बल प्रहार गरेको बलले जाली चुम्यो। यति सहयोग गर्दा पनि मानिसहरू मलाई स्वार्थी भन्न छोड्दैनथे।
तिमी त्यसबेला सानै थियौं नेइमार। गोलको उत्सव मनाउँदै बेबेतोले मलाई ‘आइ लभ यू’ भनेका थिए।
अमेरिकालाई स्तब्ध बनाएसँगै हाम्रो आत्मविश्वास झनै बलियो भयो। यो खेल स्मरण गराएर मैले तिमीलाई के स्मरण गराउन खोज्दैछु भने खेल कहिल्यै पनि एक्लै जितिँदैन।
मैदानमा हाम्रो दायित्वबाट हामी कहिल्यै पनि पन्छिनु हुँदैन समूहको पक्षमा नतिजा हात पार्नका लागि  प्राप्त अवसरहरूलाई खेर जान दिनु हुँदैन।
प्रिय नेयमार, मैले विश्वकप खेल्नका निम्ति तिमीले जति पनि अवसर पाइनँ। सन् १९९८ र २००२ मा विश्वकप खेल्न पाएको भए म कति रमाउँथें भन्ने कुरा भगवानलाई मात्र थाहा थियो। दुर्भाग्य मैले दुबै संस्करणका खेल गुमाएँ।
मैले खेलेको खेलमा मेरा सदस्यलाई भरपुर सहयोग गरें। उनीहरूले पनि उत्तिकै सहयोग गरे।
प्रिय नेइमार, तिमी बहुत आनन्दमय तरिकाले फुटबल  खेल्छौ। तिम्रो सबैभन्दा ठूलो शक्ति बनेको आफ्नो कौशलले अरूलाई आनन्दित बनाउँछौ।
पाँचौं पटक विश्वविजेता बनिसकेको ब्राजिललाई उपाधिको खडेरी छ। हेक्का राख्नु हरेकले खुसी, उत्सव र विजयका क्षणहरूमात्रै स्मरण गर्छन्।
ब्राजिलको जर्सी लगाएर मैदान छिर्दाको दबाब कसैले पनि सम्झिनेवाला छैन। आलोचकहरूका वाणीले अन्य खेलाडीलाईझैं तिमीलाई पनि हतोत्साही पार्न सक्छ। तर, तिमी उसैगरी खेल्नु र अरूलाई आनन्दित तुल्याउनु।
म फेरि १९९४ तर्फ फर्कन चाहें। त्यसबेला हाम्रो टोलीले इतिहास रच्यो। यसपटक तिम्रो टोलीले इतिहास पक्कै रच्नेछ। एउटा कुरा सधैं स्मरण गर्नु, हामीले हाम्रो राष्ट्रलाई जितको खुसी दिनुबाहेक अरू कसैलाई पनि केही दिनु छैन।
फुटबलप्रति ब्राजिलियनहरूको प्रतिवद्धता, समर्पण र विजयको लालसाले हाम्रो हौसलालाई सधैँ बलियो बनाउँथ्‍यो, मलाई विश्वास छ तिमीलाई पनि यी कुराले पक्कै प्रेरित गर्नेछ।
तिमी मैदानमा हुँदा म निर्धक्क हुन्छु। ब्राजिलियन स्प्रिटको खेल तिमीले सधैँ प्रस्तुत गर्छौ। ब्राजिललाई २०२२ को फिफा विश्वकपमा छैठौं उपाधि दिलाउने जिम्मेवारी तिम्रो काँधमा छ।  
प्रिय नेयमार, उपाधिको खडेरी तोड्ने जिम्मेवारी तिम्रो हो। म तिमीलाई विश्वास गर्छु। मैले मात्रै होइन समग्र राष्ट्रले नै तिमीलाई पत्याउँछ। आशा छ, हाम्रो आशा पूरा गर्नका निम्ति तिमीलाई पक्कै कतारी मैदानमा आशिर्वाद प्राप्त हुनेछ।
धेरै माया
रोमारियो। 

Skip This
Skip This
Logo