कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन् । 

बिहीवार नेपाली काँग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उपसभापति खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका हुन् । उनले पार्टी सभापति देउवाको नेतृत्वमा काँग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ बायाँ कुरा गरिराख्नु नपर्ने बताए । 

उनले भने– ‘नेपाली काँग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौँ । सत्ता गठबन्धन होमिएको छ । विशेषगरी काँग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडी बढेको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडी आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन । अहिले हामी काँग्रेसभित्रको एकताको वातावरण बनाउनु छ । सरकार गठन गर्दा सबै मिलेको प्रभावकारी सरकारको निर्माण गर्नुछ । काँग्रेसले आफू एकतावद्ध भएर अहिले रहेको सत्ता गठबन्धनलाई पनि एकतावद्ध रहेर त्यसपछि अरु बाँकी दलहरुलाई पनि यो मुलुकको विकास निर्माणको अभियानमा, संसदलाई प्रभावकारी बनाउने अभियानमा सबैलाई जोडेर जानुपर्ने पहिलो पार्टी भएको नाताले नेपाली काँग्रेसको मुल दायित्व छ । त्यो दायित्वलाई हामी सबैले गम्भिरतापूर्वक लिएर अगाडी बढ्यौँ । छलफल र संवाद ग-यौँ भने मलाई लाग्छ संसदीय दलको नेताको निर्वाचनपनि सर्वसम्मत तरिकाले अगाडी बढ्नसक्छ ।’

उपसभापति खड्काले संसदीय दलको नेतामा अन्य नेताहरुको आकांक्षालाई अन्यथा मान्नु नहुने टिप्पणी गरे । व्यक्तिहरुको आकांक्षाकै बीचमा सर्वसहमतिको वातावरण बनाउने उनको भनाई छ ।

उनले भने– ‘कुनै नेताहरुले आफ्नो आकांक्षा राख्ने कुरालाई अन्यथा मान्नु हुँदैन । लोकतन्त्रमा कुनैपनि निर्वाचन प्रक्रिया अगाडी आउँदा कसैले म फलानो पदमा उठ्छु भनेर कसैले आफ्नो आकांक्षा व्यक्त गर्दा त्यसलाई हामीले अन्यथा मान्नु हुँदैन । त्यो आकांक्षा प्रकट भएकै कुरालाई जोडेर सर्वसम्मतको वातावरण बनाउने हो । मलाई विश्वास छ त्यो वातावरण बन्नसक्छ । त्यसमा अत्यन्त इमान्दारीपूर्वक, निष्ठापूर्वक मुलुकको परिस्थिति, आम नेपाली जनताको अहिलेको दलहरुप्रति, सत्ता गठबन्धन प्रतिको आशा, भरोसा, विश्वास जुन खालको संकेतहरु आएको छ, त्यसप्रति हाम्रो पहिलो इमान हुनुप-यो ।’

उनले सत्ता गठबन्धनकै सरकार बनाउने बताए । वर्तमान गठबन्धनमा आवद्ध दलहरुको साथै अन्य दलहरुलाई पनि जोडेर गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउने उनले बताए । त्यसका निम्ति सभापति देउवाले अन्य दलका नेताहरुसँग संवाद अगाडी बढाएको उनले उल्लेख गरे । 

उपसभापति खड्काले कानून निर्माणको कामलाई तिब्र बनाउन र संसदलाई प्रभावकारी बनाउनका लागि नेपाली काँग्रेस र सत्तारुढ गठबन्धन प्रतिवद्ध रहेको बताए । 

Logo