निर्वाचनअघि प्रचारप्रसारका क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले २० लाख समानुपातिक मत ल्याउने दाबी गरेका थिए । उनले सबैभन्दा धेरै मत ल्याएर आफ्नो पार्टी पहिलो बन्ने पनि बताएका थिए । तर, एक करोड चार लाख समानुपातिक मतगणना भइसक्दासमेत एकीकृत समाजवादीले दुई लाख ९४ हजार मत पाएको छ । अर्थात् ‘थ्रेस होल्ड’ कटाउन पनि हम्मेहम्मे परेको छ ।
डेढ वर्षअघि मात्र एमाले विभाजन गरेर नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । पार्टी गठन भएको आठ महिनापछि भएको स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले एक महानगरपालिका, एक उपमहानगरपालिकासहित धेरै नगरपालिका र गाउँपालिका जितेको थियो । त्यसैले संसदीय निर्वाचनमा पनि आफ्नो पार्टीले उल्लेख्य मत ल्याउने नेता नेपालको अपेक्षा थियो । तर, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न संघर्षरत छ ।
हालसम्मको मतगणनाले एकीकृत समाजवादी पार्टी नबन्ने सम्भावना प्रबल छ । अझै स्याङ्जा- २, बाजुरा र दोलखाको समानुपातिक मत गन्न बाँकी छ । एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न अझै १७ हजार मत आवश्यक पर्छ । तर, त्यति ल्याउन उसलाई महाभारत नै पर्ने देखिन्छ ।
राष्ट्रिय पार्टी बन्नबाट वञ्चित भएमा एकीकृत समाजवादीले संसद् सचिवालयबाट पाउने सेवासुविधा सबै गुमाउने छ । त्यति मात्र होइन, राष्ट्रिय पार्टीको हैसियतमा नभई उनी संसदमा स्वतन्त्र दलको हैसियतमा रहनेछन् । थ्रेस होल्डको सीमा काट्न नसकेका दलहरु समानुपातिक तर्फको निर्वाचनमा विजयी संख्या पाउन अयोग्य हुँदै प्रक्रियाबाट बाहिरिन्छन् । बाहिरिएका दलसँगै ती दलहरुले प्राप्त गरेको मतसमेत समानुपतिक निर्वाचनमा प्राप्त कुल सदर मतबाट घटाइन्छ ।
अहिलेसम्म सात दलले ‘थ्रेस होल्ड’ सीमा पार गरिसकेका छन् । जसमा एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा नेपाल र जनमत पार्टी रहेका छन् । यसमध्ये हालसम्म नेकपा (एमाले)ले सबैभन्दा बढी मत २७ लाख ८८ हजार मत प्राप्त गरेको छ । त्यसपछि बढी नेपाली कांग्रेसले २६ लाख ६० हजार मत पाएको छ । साथै तेस्राे स्थानमा नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार मत र चाैथाे स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार मत प्राप्त गरेको आयोगले जनाएको छ ।





























प्रतिक्रिया