नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध हार व्यहोरेको छ । आइतबार भएको खेलमा स्कटल्यान्डसँग नेपाल ३ विकेटले पराजित भएको हो ।
नेपाललले जितका लागि दिएको १३८ रनको सामान्य लक्ष्य स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो । स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४३ रन जोडे । साथै मिचेल लिस्कले २२ रन बनाए भने तथा ब्राण्डन एमसीमुलन ३२ रनमा अविजित रहे ।
बलिङतर्फ नेपालका तीव्र गतिका बलर गुलशन झा, स्पिनर ललित नारायण राजवंशी र सागर ढकालले समान २/२ विकेट लिए ।
त्यसअघि नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै १३७ रन बनाएको थियाे ।
नेपालका लागि आठौं नंबरमा ब्याटिङमा आएका गुल्सान झाले सर्वाधिक २९ रन जोडे । साथै पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाए । यसअघि नामिबियाविरुद्धको खेलमा उनले करिअरकै उत्कृष्ट प्रदर्शन गरेपनि आजको खेलमा भने जम्न सकेनन् । अर्जुन साउदले १८ रन, आशिफ शेखले १७ रन, आरिफ शेखले १० रन बनाउनुबाहेक कुनै खेलाडी क्रिजमा टिक्न सकेनन् । उत्कृष्ट प्रदर्शन गर्दै आएका कुशल भुर्तेल कट एण्ड बोल्ड हुँदै गोल्डेन डक भएर पेभेलिएन फर्किए ।
बलिङतर्फ स्कटल्यान्डका क्रिस सोलेले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, मार्क वाटले २ विकेट तथा सफ्यान शरिफ र ब्राण्डन एमसीमुलनले समान एकएक विकेट लिए ।
नेपालले शृङ्खलाको पहिलो खेल वर्षाले प्रभावित बनेपछि नामिबियासँग अंक बाँडेका थियाे । ७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ। स्कटल्याण्ड भने ३० खेलमा ४४ अंकका साथ शिर्ष स्थानमा उक्लिएकाे छ ।





























प्रतिक्रिया