संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाको पर्यटन क्षेत्रको विकासलाई आधारित बनाएर देशको पर्यटन क्षेत्र विकासको कार्ययोजना बनाउनुपर्ने बताएका छन् ।
बिहीवार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले देशको पर्यटन क्षेत्रको विकासको कार्ययोजना काठमाडौं उपत्यकाको पर्यटन विकासलाई आधारित बनाएर गर्नुपर्ने बताएका हुन् । उनले आफूले पर्यटन विकासको कार्ययोजनामा उपत्यकाको संस्कृति र सम्पदालाई आधारीत बनाएर गर्नुपर्छ भन्ने मान्यतालाई अगाडी सारेको बताए ।
उनले भने– ‘हामीले हाम्रो देशको पर्यटन क्षेत्रको विकासको कार्ययोजना अगाडी सार्दा उपत्यकाको पर्यटन क्षेत्रको विकास, यहाँको संस्कृति र सम्पदालाई आधारीत बनाएर गर्नुपर्छ भन्ने मान्यतालाई अघि सारेका छौँ । त्यो नीतिलाई अगाडी सारेका छौँ । हाम्रो देशको पर्यटन क्षेत्र सिजनल खालको पर्यटन होइन, नेपाल बाह्रै महिना पर्यटकको गन्तव्य स्थल हो भन्ने कुरालाई अगाडी सारेका छौँ । उपत्यका जहाँको प्रकृति, हावापानी र मौसमहरुका हिसाबले मान्छेहरु घुमफिर गर्न सक्ने वातावरण छ । संस्कृति र सम्पदालाई चिनाउन सकिएमा पर्यटकलाई आकर्षक गर्न सक्ने अवस्था छ ।’
मन्त्री श्रेष्ठले सम्पदा तथा संस्कृतिहरुको संरक्षणका लागि जनस्तरबाट पनि काम हुनुपर्ने बताए । सरकारी प्रयास सँगसँगै जनस्तरबाट पनि काम गर्न सके सम्पदाहरुको संरक्षण गर्न सकिने र मौलिकतालाई कायम राख्न सकिने उनको भनाई छ ।
उनले भने, ‘हामीले हाम्रो सभ्यतालाई चिनाउन सक्यौँ भने मात्र हामीले हाम्रो इतिहासलाई उजागर गर्नसक्यौँ भने र हामीले हाम्रा सभ्यता र संस्कृतिहरुलाई संरक्षण गर्नसक्यौँ भने मात्र हाम्रो पहिचानलाई कामय गर्नसक्छौँ । हाम्रो राष्ट्रलाई चिनाउन सक्छौँ । हाम्रो मौलिकतालाई संरक्षण गर्नसक्छौँ । त्यसकारण यसको छुट्टै महत्व छ । सरकारले संस्कृतिको विकासको लागि, सम्पदाहरुको संरक्षणको लागि जुन कामहरु अगाडी बढाइरहेको छ, यसलाई जनस्तरबाट पनि हामीले सँगसँगै लैजानसक्यौँ भने हाम्रो देशको संस्कृतिलाई अझ संरक्षण गर्नसक्छौँ । सम्पदाहरुलाई जगेर्ना गर्न सक्छौँ र मौलिकतालाई कायम राख्न सक्छौँ ।’





























प्रतिक्रिया