ब्राजिलको अट्याक विरुद्ध क्रोएसियाको डिफेन्स

ब्राजिलको अट्याक विरुद्ध क्रोएसियाको डिफेन्स

केन्द्रबिन्दु
0
Shares

कतारमा जारी विश्वकप फुटबलअन्तर्गत आज, शुक्रबार राति क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् । पहिलो खेल राति ८ः४५ बजे दक्षिण अमेरिकी महारथी ब्राजिलले युरोपेली टोली क्रोएसियासँग एजुकेसन सिटी रंगशालामा सेमिफाइनल यात्राका लागि भिड्दै छ । ब्राजिल सर्वाधिक पाँच पटकको विश्वविजेता हो भने क्रोएसिया पछिल्लो संस्करणको उपविजेता हो । जारी प्रतियोगितामा क्रोएसिया अपराजित छभने ब्राजिल समूह चरणको एक खेलमा पराजित भइसकेको छ ।

दुबै टोली जित हात पार्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेका छन् । विगत हेर्ने हो भने ब्राजिल बलियो देखिन्छ । यी दुई टोलीबीच अहिलेसम्म चार खेल हुँदा नतिजा ब्राजिलकै पक्षमा रहेको छ । ब्राजिलले तीन खेल जित्दा एक खेल बराबरीमा सकिएको थियो ।

सन् २००२ मा पछिल्लो पटक विश्वकप जितेको ब्राजिल दोस्रो पटक एसियामा विश्वकप हुँदा त्यही इतिहास दोहोर्याउने दाउमा छ । जहिल्यै दाबेदारको रुपमा रहने ब्राजिल सन् २००२ पछि फाइनलमा पुग्न सकेको छैन । चार वर्षअघि रुसमा क्वाटरफाइनलसम्म पुगे पनि बेल्जियमसँग पराजित हुँदै ब्राजिल घर फर्केको थियो । यस्तै सन् २०१४ मा घरेलु भूमिमै सेमिफाइनलसम्म पुगेको ब्राजिल सन् २००६, १० र २०१८ मा क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

उपाधिका हिसावले विश्व नम्बर एक टोली ब्राजिल नेइमार टिममा फर्केपछि उत्साहित छ । समूहको पहिलो खेलमै घाइते भएका नेइमारले त्यसपछि समूह चरणका दुई खेल खेलेनन् ।

तर घाइते नेइमार अन्तिम १६ को खेलमा फर्कदै दक्षिण कोरिया विरुद्ध १ गोल गरेका थिए । नेइमारसहित भिनिसियस जुनियर, रिचार्लिसन र लुका पाक्वोएटा सम्मिलित ब्राजिलको अट्याक निकै चुस्त देखिएको छ । ब्राजिलले समूह चरणका ३ र नकआउटको एक गरी चार खेलमा ७ गोल गर्दा २ गोल मात्र खाएको छ । मुख्य खेलाडीलाई विश्राम दिने हुँदा समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग हारे पनि पछिल्लो नतिजाले ब्राजिल उच्च मनोबलका साथ शुक्रबार मैदानमा उत्रने छ ।

यता क्रोयसियाका कप्तान लुका मोडरिचकै उच्च प्रदर्शनीका कारण चार वर्षअघि रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेको थियो । तर फाइनलमा फ्रान्ससँग पराजित हुँदै क्रोएसिया उपविजेतामै सिमित बन्यो । यस पटक पनि त्यही लयलाई कायम राख्ने प्रयासमा रहेको क्रोएसियाको लागि ब्राजिलको चुस्त अट्याकलाई रोक्नु मुख्य चुनौती हुनेछ । आज यी दुई टोली बीच हुने खेललाई ब्राजिलको अट्याक विरुद्ध क्रोएसियाको डिफेन्स भनिएको छ । डिफेन्समा राम्रो रहेको क्रोएसियाले जारी प्रतियोगितामा एक खेल पनि हारेको छैन । प्रशिक्षक डालिकको नेतृत्वमा क्रोएसिया २० खेलमध्ये एउटामा मात्रै हार ब्यहोरेको छ । 

तर उसको अपराजित यात्रामा ब्राजिलले शुक्रबार ब्रेक लगाइदिन सक्छ । ब्राजिल जारी विश्वकपमा उत्कृष्ट लयमा छ । अन्तिम १६ मा उसले दक्षिण कोरियालाई ४–१ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

चार वर्षअघि तीन खेल अतिरिक्त समयमा जित्दै क्रोएसिया फाइनल पुगेको थियो । यस पटक पनि अन्तिम १६ मा क्रोएसियाले जापानलाई अतिरिक्त समयमै पेनाल्टी सुटआउटमा १–३ गोल अन्तरले जित निकालेको थियो । क्रोयसियाका लागि क्रोएसियन गोलरक्षक डोमिनिक लिभाकोभिकले जापानका ४ मध्ये ३ पेनाल्टी विफल बनाउँदै टोलीलाई क्वाटरफाइनल पुर्याएका थिए । समूह चरणमा मोरक्को विरुद्ध गोलरहित बराबरी खेल्दै विश्वकप सुरु गरेको क्रोएसियाले क्यानडा विरुद्ध ४–१ को पुनरागमन जित निकालेको थियो । क्रोएसियाले बेल्जियम विरुद्ध पनि गोलरहित बराबरी खेलेको थियो ।

 

 

Logo