नेपाली काँग्रेसका संखुवासभा जिल्लाबाट नवनिर्वाचित सांसद दीपक खड्काले नेपाल स्काउटले पटक–पटक आफ्नो चरित्रहत्या गरेको भन्दै आपत्ति जनाएका छन् ।
आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद खड्काले खड्का ल्याण्ड डेभलपमेण्ट प्रा.लि.सँग आफ्नो कुनै सम्बन्ध नहुँदा समेत नेपाल स्काउटका तदर्थ समितिका अध्यक्ष लोकबहादुर भण्डारी पटक–पटक चरित्रहत्या गरिको भन्दै कानूनी उपचारको लागि अदालतमा मानहानीको मुद्दा हाल्ने बताएका हुन् । उनले नेपाल स्काउटले खड्का ल्याण्ड डेभलपमेण्ट प्रा.लि.सँग स्काउटको जग्गा भाडामा सम्झौता सकिँदा समेत आफूले प्रहरी लगाएर हस्तक्षप गरेको भन्ने आरोपको खण्डन गरे ।
नवनिर्वाचित सांसद खड्काले खड्का ल्याण्ड प्रा.लि कानूनी रुपमा वैधानिक तरिकाले सम्झौता भए बमोजिम भाडा बापतको रकम दिएर व्यवसाय सञ्चालन गरिरहेको बताए । स्काउटका अध्यक्ष भण्डारीले संस्थालाई आँच आउने र आफ्नो चरित्रहत्या गर्ने काम भएको उनको दाबी छ ।
उनले नेपाल स्काउट तदर्थ समितिका अध्यक्ष लोकबहादुर भण्डारी पूर्वप्रधानमन्त्रीको नजिक,राष्ट्रिपतको नातेदार हौँ भन्दै मान्छे तर्साउने धम्काउने गरेको भन्दै नेपाल स्काउटका मान्छे नभएर विचौलीया भएको आरोप लगाए । भण्डारीले स्काउटलाई तहसनहस गर्दै राजनीतिक भर्ती गर्ने,गैरकानूनी कामहरु गर्ने र स्काउटको करोडौं रकम हिनामिना गरेकाले आफूहरुले भण्डारी बिरुद्ध छानविनका लागि युवा तथा खेलकुद मन्त्रालय र अख्तियारमा निवेदन दिएकासमेत उनले बताए ।
उनले भने ‘पटक–पटक मेरो चरित्रहत्या गरिएकाले आपत्ति जनाउन चाहन्छु । अब म सम्बन्धित अदालतमा पनि चाँडै मानहानीको मुद्दा हाल्छु । स्काउट जस्ता संस्थाको संरक्षण गर्नुपर्छ भन्ने मेरो मान्यता राख्दाराख्दै स्काउटका अध्यक्षको स्वार्थपूर्ति नभएको कारण पटक–पटक चरित्र हत्या गर्ने काम भएको छ । स्काउटको अपमान जनक कार्य सरकारले रोक्नुपर्छ । अहिले म खड्का ल्याण्ड डेभलपमेण्ट प्रा.लि.मा छैन । अहिले प्रायःसबै कारोबार छाडेर जनसेवामा जुटेको छु । कानूनी रुपमा व्यवसाय गरिरहेको संस्थालाई आँच आउने काम र व्यक्तिगत जीवनमा समेत अपमान गर्नेहरुलाई कारबाहीको माग गर्दछु ।’
त्यस्तै, खड्का ल्याण्ड डेभलपमेन्ट प्रा.लि.का सञ्चालक सेवक पोखरेलले नेपाल स्काउटले लगाएका आरोपहरु सबै झुटो रहेको बताए । उनले संस्थाले स्काउट जस्तो समाजिक संस्थाप्रति उत्तरदायी भएर सम्झौता अनुसार भुक्तानी समेत नियमित रुपमा तिर्दै आएको बताए । स्काउटको वर्तमान समिति आए पश्चात सम्झौता अनुसार काम गर्न नदिई पटक–पटक पूर्वसञ्चालक र संस्थाप्रति षड्यन्त्र गरिरहेको उनको भनाई छ ।
प्रा.लि.ले स्काउटको जग्गा भाडासम्बन्धि मुद्दा सर्वाेच्च अदालतमा विचाराधिन रहेको जानकारी दिएको छ । प्रालीले स्काउटले सवोच्चमा विचाराधिन रहेको मुद्दालाई प्रभावित पर्ने गरी अर्नगल प्रचारवाजी गरेको आरोप लगाएको छ ।





























प्रतिक्रिया