‘ए’ डिभिजन लिग समयमै हुनेमा आशंका, विवाद के हो ?

‘ए’ डिभिजन लिग समयमै हुनेमा आशंका, विवाद के हो ?

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको मेरुदण्ड मानिने शहीद स्मारक ए डिभिजन लिग पुस २६ बाट आयोजना गर्ने निर्णय गरिसकेको छ । महिना दिन बाँकी रहेको अवस्थामा सहभागि हुने क्लवले अहिलेसम्म दर्ता गराएका छैनन् । 

अघिल्लो संस्करणको वक्यौता रकम बाँकी रहेको अवस्थामा क्लवले सहभागिता जनाउन चाहिरहेका छैनन् । सहभागि हुने क्लवलाई एन्फाले पुस पहिलो साता भित्र क्लव दर्ता गराएर पहिलो किस्ताको तयारी खर्च लिन पत्राचार गरेपनि प्राविधिक हिसावमा भने क्लवहरु तयारी नपुगेको भन्दै चिन्तित छन् । यसले निर्धारित मितिमा नै लिग हुन्छ भन्नेमा अन्योलता भएको छ । 

शहीद स्मारक ए डिभिजन लिग घोषित मितिमा नै गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लवलाई पत्राचार गरिसकेको छ । पुस पहिलो साता भित्र दर्ता गराए लिग तयारी खर्च दिने भनिए पनि क्लवले अघिल्लो संस्करणको लिगको वक्यौता रकम दिन माग राख्दै दर्तालाई विलम्व गरिरहेका छन् । वक्यौता रकम नपाएको भन्दै केही साता अघि मात्र केही अधिकांश क्लवले एन्फामा रकम भुक्तानीको ज्ञापन पत्र बुझाएका थिए । 

तिनै मध्येको संकटा क्लवका अध्यक्ष इन्द्रमान तुलाधरले एन्फाबाट पठाएको पत्र अनुसार तयारी खर्च उपलब्ध गराएको अवस्थामा क्लव दर्ता गर्न तयार भएको बताए । उनले सधैं लिग आयोजना गर्दा ठूलो मात्रामा रकम खर्च हुने गरेको र छुट्टयाएको रकम समयमा पाउन नसक्दा क्लव सञ्चालनमा समस्या भएको बता ए । एन्फा र क्लवबीच डबल लिग, काठमाडौं भन्दा बाहिर लिग आयोजना र कम्तीमा पनि ६ महिना लिग सञ्चालनको अवधि निश्चित भएको खण्डमा मात्रै आफूहरु लिग खेल्न तयार भएको उनको भनाई छ ।  

उनले भने, ‘एन्फा र क्लवबीच ए डिभिजन लिगका विषयमा भएको सहमति भनेको डबल राउण्ड रोबिन लिग गर्ने, लिग घटीमा पनि ६ महिना चलाउने, काठमाडौं उपत्यका भन्दा बाहिर पनि आयोजना गर्ने विषयमा भएको छ । यसमा हामी सम्झौता गर्दैनौं । यस बाहेक अन्य विषयमा सम्झौता गरेर पनि अगाडि बढ्नसक्छौं । तीन मुख्य विषयमा भएको सहमति बेगर हामी क्लव सहमत छैनौं । एन्फाबाट पाउने पर्ने वक्यौतामा समस्या भएको र नयाँ सिजनका लागि पेस्की दिने विषयमा एन्फा पछाडि हटेको छ । यसमा हाम्रो विमती छ ।’ 
 
एन्फाले भने निर्धारित मितिमा नै लिग सञ्चालनका लागि क्लव दर्ता गर्दै प्रक्रिया पूरा गरेर तयारी खर्च लिनका लागि आह्वान गरेको छ । एन्फाका महासचिव किरण राईले पुरानो वक्यौता भुक्तानीका लागि प्रक्रिया अगाडि बढीसकेको बताए । त्यसका लागि एन्फाले मंसिर २३ सहभागि हुने सबै क्लवलाई पत्राचार गरेको र पुस पहिलो साता भित्र प्रक्रिया पूरा गरे क्लव दर्ता गरेर पहिलो किस्ताको रकम लिन उनको आग्रह छ । 

उनले भने, ‘नयाँको पहिलो  किस्ता हामीले दिँदैछौं । पुरानोको सन्दर्भमा प्रक्रिया नपुगेर रोकिएको छ । प्रक्रिया पूरा गर्न हामीले भनिरहेका छौं । प्रक्रिया पूरा गरिसकेका क्लवको सन्दर्भमा भुक्तानीका लागि अगाडि बढाईसकेका छौं । लिग सुचारु गरिहाल्नुपर्ने भएकाले हामीले क्लवहरुलाई पत्राचार गरिसकेका छौं । पुस पहिलो साताभित्र क्लव दर्ता गर्दै सम्झौता गरेर तयारी खर्च लिन आग्रह गरेका छौं ।’
 
पछिल्लो समय फुटबल गतिविधि नहुँदा खेलाडीहरु विकल्पका बाटो रोजिसकेका छन् । केही खेलाडी व्यवसायिक फुटबलका लागि विदेशीएका छन् भने केही खेलाडीले फरक विधामा भविष्य खोजिरहेका छन् । मोफसलमा आयोजना हुँदै आएका प्रतियोगिता पनि एन्फाको क्यालेण्डरमा आयोजना हुन मुस्किल भइरकेको छ । सोही अवस्थामा विश्वभर फैलिएको कोरोना महामारीले अन्य क्षेत्रमा जस्तै फुटबलमा पनि व्यापक असर ग-यो । 

एन्फामा पंकजविक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएपनि निर्वाचनका बेलामा बाँडिएका एजेण्डा अनुसार फुटबलमा कामले गति लिनसकेको छैन । आफ्नो जीवन नै खेलमा समर्पण गरेका खेलाडीलाई फुटबल गतिविधि नहुँदा कठिन हुँदै गएको छ । मुस्किलले केही महिना मात्र हुने फुटबलले खेलाडीलाई बाँच्न गाह्रो भएको र विकल्पको बाटो रोज्नुपर्ने बाध्यता भएको नेपाली टोलीका पूर्व सदस्य विक्रम लामा बताउँछन् । 

उनले भने, ‘फुटबल गतिविधि नहुँदा कतिपय खेलाडील विकल्पको बाटो खोज्नुपर्ने बाध्यता छ । अर्ध व्यवसायिक भएपनि खेलाडीहरु फुटबलसँग जोडिएका छन् । खेलाडीले आर्थिकविषयमा जोडिएका पनि छन् । ती खेलाडीले परिपूर्ति गर्न नपाएको खण्डमा विकल्पको बाटो खोज्न बाध्य छन् । यो विषय हिजोदेखि भएको थियो र अहिले पनि छ । यसका लागि फुटबलमा जीवनयापन गरिहेका खेलाडी र फुटबल विकासका लागि घरेलु लिग व्यवस्थित र परिमार्जित तरिकाले हुनुपर्छ ।’
 
क्लव र फुटबल संघको विवादले फुटबलको मेरुदण्ड मानिने लिग अहिले दुविधामा छ । फुटबल संघले निर्धारित समयमा नै लिग सञ्चालनको वाचा राखेपनि क्लवको मागले यसलाई दुविधामा पु-याएको हो । यस्तै अवस्थामा खेलाडी लामाले क्लव, खेलाडी र संघले आपसी समझदारीबाट फुटबल सञ्चालनमा ध्यान दिनुपर्ने सुझाव दिए । फुटबल भित्रको समस्या समग्र नेपाली फुटबलको समस्या भएको भन्दै असमझदारीका विषयलाई टुङ्ग्याउँदै फुटबल सुचारु गर्न माग गरे । खेलाडीको अधिकार भनेको फुटबल खेलेर देशको प्रनिधित्व गर्ने भएको भन्दै उनले स्वच्छ वातावरणमा फुटबल उपलब्ध गराउन जिम्मेवारी निकाकयसमक्ष आग्रह गरे । 

पछिल्लो संस्करणको शहीद स्मारक ए डिभिजन लिग सकिएको झन्डै वर्ष दिन भइसेको छ । यो बीचमा संघमा नयाँ कार्यसमितिको प्रवेश भयो । तरपनि फुटबलको समस्या समाधानमा नयाँ नेतृत्व उदासीन देखिन्छ । यस्तो अवस्थामा लिग आयोजना गर्न आवश्यक रकम जुटाउन एन्फाले राष्ट्रिय खेलकुद परिषद् र अन्य निकायसँग सहयोगको अपिल गरेको छ । मुख्य प्रायोजकको रुपमा रहेको कतार एयरवेजले हात निकाल्दा एन्फा आर्थिक रुपमा संकटमा छ । आपसी खिचातानीमा रुमलिएको एन्फा नेतृत्व र कठिन आर्थिक अवस्थाले लिग समयमा नै नहुने प्रश्न पनि उत्तिकै छ । 

Skip This
Skip This
Logo