प्रधानन्यायाधीश जवराको भूमिकाले न्याय सम्पादक सन्तोषजनक भएन– बार एशोसियशन

प्रधानन्यायाधीश जवराको भूमिकाले न्याय सम्पादक सन्तोषजनक भएन– बार एशोसियशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जवराको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको बताएको छ । सोमबार बारले आयोजना गरेको पत्रकार सम्मेलनमा एशोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्याय सम्पादनमा व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको बताएका हुन् ।

प्रधानन्यायाधीश जवराले २०७५ सालमा बहाली हुँदा न्यायपालिकाभित्रको विकृति हटाउने उल्लेख गरेपनि अहिले व्यवहारमा त्यस्तो नदेखिएको श्रेष्ठले बताए । झिना मसिना कुराहरुमा सुधार भएको तर जनताले चाहेको खास कुराको समाधान हुन नसकेको उनको आरोप छ । उनले भने–‘न्यायपालिकाभित्र न्याय सम्पादन सन्तोषजनक छैन । प्रधानन्याधीशमा बहाली हुँदा न्यायपालिकाभित्रको विकृति हटाउने बताएपनि अहिले व्यवहारमा हेर्दा सुधारका झिना मसिना बाहेक जनताले चाहेको खास कुरा अझै पनि समाधान हुन सकेको छैन् ।’

नेपाल बार एशोसिएशनले न्याय सम्पादनमा भएका विकृती हटाउनुपर्ने भन्दै प्रधानन्यायाधीश समक्ष विभिन्न १७ बुँदे माग सहितको पत्र बुझाइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । बारले एक महिनाभित्रै विद्युतीय स्वचालित प्रणाली मार्फत पेशी तोक्ने व्यवस्था गर्न, न्यायाधीश नियुक्तिको सम्बन्धमा न्याय परिषद् ऐन २०७३ को दफा ४ को व्यवस्था कार्यान्वयन गर्न र बारले सुझाव दिए अनुसार एक बराबर तीनको रोष्टर बनाई सार्वजनिक गर्न माग गरेको छ । साथै, अदालतमा नियुक्त भएका केही न्यायाधीसहरुमा पदानुकुलको अनुभव तथा ज्ञानको अभाव रहेको गुनासो आएकाले त्यस्तालाई पहिचान गरी न्याय परिषद्मा हाजिर गराई प्रशिक्षण, तालिम र अध्ययनको उचित व्यवस्था गर्न माग समेत गरेको छ ।

त्यस्तै न्याय क्षेत्रभित्रका विकृति, विचौलिया र भ्रष्ट्राचार नियन्त्रण गर्न बारको प्रतिनिधि सम्मिलित विशेष संयन्त्र गठन गर्न समेत बारले माग गरेको छ । साथै वरिष्ठ अधिवक्ताको उपाधि आफू खुशी वितरण नगर्न समेत माग गरेको छ । यस्तै न्यायाधीश र नेपाल बार एशोसिएशनको पदाधिकारीको सम्पत्ति पारदर्शी रुपमा छानविन गरी सार्वजनिक गर्ने व्यवस्था मिलाउन समेत माग गरिएको छ । अदालतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभावलाई नियन्त्रण गर्न समेत बार एशोसिएशनले माग गरेको छ ।

Logo