७ दिन भित्र विवरण पेश गर्न अवालेलाई राखेपको पत्र

७ दिन भित्र विवरण पेश गर्न अवालेलाई राखेपको पत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल बक्सिङ संघमा देखिएको आर्थिक अनियमितताका सम्बन्धमा सत्य तथ्य पेश गर्न ७ दिने पत्र काटेको छ ।

राखेपले बक्सिङ संघका अध्यक्ष राम अवालेलाई पत्र लेख्दै ७ दिनभित्र संघभित्र भएका आर्थिक अनियमितताका विवरण परिषदमा पेश गर्न निर्देशन दिएको हो । संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते बक्सिङ संघमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै छानविन गर्न मागसहित राखेपमा उजुरी दिएका थिए ।

उनीहरुले संघभित्रको आर्थिक अनियमितताको छानविन गरि दोषी उपर कारबाही गर्न माग गर्दै राखेपमा ५ बुँदे निवेदन दर्ता गरेका थिए । राखेपका संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पत्र लेख्दै सत्य तथ्य विवरण खुलाई ७ दिन भित्र राखेपमा पत्र पेश गर्न निर्देशन दिएका छन् ।

पछिल्लो समय बक्सिङ संघभित्रको विवाद उत्कर्षमा पुगेको छ । संघका निर्वाचित कोषाध्यक्षलाई बाहिर राख्दै विधान विपरित सह–कोषाध्यक्षको हस्ताक्षर गराई अध्यक्ष अवालेले आर्थिक अनियमितता गरेको भन्दै महासचिव भट्टाचार्य र कोषाध्यक्ष सुजखु बिरोधमा उत्रिएका छन् ।

संघको पछिल्लो बैठकमा महासचिव भट्टाचार्यले आफूमाथि अध्यक्षसहित केही पदाधिकारीले दुव्र्यवहार गरेको भन्दै विरोध गरेका थिए । महासचिव भट्टाचार्यले संघका अध्यक्ष अवाले एकलौटी र तानाशाही ढंगले चल्न खोजेको भन्दै नेतृत्वको विरोध गर्दै आएका छन् ।

कार्यसमिति बैठकमै आफूमाथि दुव्र्यवहार भएपछि महासचिव भट्टाचार्य र कोषाध्यक्ष सुजखुले राखेप सदस्य सचिवलाई पत्र लेख्दै संघभित्रका बिषय अनुसन्धानका लागि आग्रह गरेका थिए ।

 

Logo