काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी विवादमा खुला छलफल हुन नसक्दा समस्या भएको बताएका छन् । सोमबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले त्यस्तो बताएका हुन् । पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सीधा, खुला र स्पष्ट रुपमा छलफल गरी सकारात्मक निकास निकाल्नुपर्नेमा उनको जोड छ । कम्युनिष्ट पार्टीभित्र हुने छलफल, बहस र अन्तरसंघर्षलाई जीवन र चालक शक्ति मानिने उनको भनाइ छ ।
‘कम्युनिष्ट पार्टीको उद्देश्य समाजमा आजसम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु, गराउनु हो । त्यसका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त हो’–उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘अतस् क पा भित्र अन्तरपार्टी जनवाद, छलफल ,बहस र अन्तरसंघर्सलाई पार्टीको जीवन र चालक शक्ति भनिन्छ ।’
पार्टीभित्र सिधा र खुला छलफल गर्नुको सट्टाभित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा, अर्को ठांउमा अर्को कुरा गर्ने प्रवृत्तिले अहिलेको समस्या देखा परेको भन्दै प्रवक्ता श्रेष्ठले थपेका छन्–‘अन्तरसंघर्षलाई स्वस्थ र रुपान्तरणमुखी ढँगले सञ्चालन गर्नाले विचारको परिमार्जन एवं विकास, संगठनको व्यवस्थापन, परिचालन एवं सुदृढीकरण र सामाजिक रुपान्तरणको क्रान्तिकारी उदेश्यमा योगदान पुर्याउँछ । अन्तरसंघर्षलाई सार्थक निष्कर्षमा पुर्याउन वैचारिक, सैध्दान्तिक, राजनीतिक, प्रवृत्तिगत र मुद्दागत रुपमा सिधा, खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्छ । हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टाभित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा, अर्को ठांउमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो । त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन, बरु जटील बनाउछ । त्यसैले पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सिधा, खुला र स्पष्ट रुपमा छलफल गरौं र सकारात्मक निकास निकालौं । पार्टी एकताको रक्षा गरौं, समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढौं ।’





























प्रतिक्रिया