नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी निकाय र अन्तरमन्त्रालयबीच समन्वय हुन नसक्दा अर्थतन्त्रमा समस्या भइरहेको बताएका छन् ।
बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारण सभामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले मन्त्रालय र सरकारी निकायहरुबीचको समन्वयको कमीले अवसर हुँदासमेत विकास निर्माणका कामले गति लिन नसकेको बताए । उनले नयाँ बन्ने सरकारले अन्तरमन्त्रालय र सरकारी निकायबीचको समन्वयका बारेमा ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘हाम्रो सरकारको निकायहरु सरकारी निकायहरु अन्तरमन्त्रालय, मन्त्रालय विभागको पनि समन्वय हुन सकेका छैन । विभागले गर्ने कामहरुको समन्वय हुन सकेको छैन । आगामी सरकारले सानासाना समस्याहरुबाट नेपालको आर्थिक विकासको सहकार्य गर्ने कुरामा प्राथमिकता दिनुपर्छ । निजी क्षेत्रले उठाएको चिजहरु निजी क्षेत्रका लागि मात्रै हो भन्ने गलत प्रचार भइरहेको छ । नेपालको अर्थतन्त्र सही हिसावले अघि बढेन भने प्रत्येक व्यक्तिको आम्दानीमा कम हुनेछ । पर्यटन पवद्र्धनका कुराहरुमा समस्या देखिनेछ । निजी क्षेत्रले उठाएका कुराहरुको गलत प्रचार भइरहेको छ । यस्तै अवस्था रहने हो भने देशकै लागि समस्या सिर्जना हुन्छ ।’
कार्यक्रममा नेपाल चेम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेसकुमार अग्रवालले निजी क्षेत्रलाई तरलता र उच्च ब्याजदरको समस्या बढी भएको बताएका छन् । उनले निजी क्षेत्रमा विभिन्न कारणले भइरहेको भन्दा धेरै तरलतामा संकुचन आएको बताए । पुसमा किस्ता तथा ब्याज तिर्न निजी क्षेत्रलाई थप पुँजी कहाँबाट ल्याउने भन्ने समस्या भइरहेको पनि उनले बताए ।
उनले भने, ‘निजी क्षेत्रलाई परेको समस्या भनेको तरलता र उच्च ब्याजदरको समस्या हो । २०७९ को वैशाखदेखि तरलताको उच्च ब्याजदर र तरलताको अभावले र कोभिड १९ र रुस युक्रेन युद्धले निजी क्षेत्रको तरलताका काममा धेरै ठूलो वृद्धि भएको छ । कोभिडले २० प्रतिशत जति तरलता संकुचन भयो । हाम्रो भइरहेको तरलतामा झनै संकुचन भयो । पुसमा किस्ता तथा ब्याज तिर्न निजी क्षेत्रलाई थप पुँजी कहाँबाट ल्याउने भन्ने समस्या भएको छ । धेरै कठिन भइरहेको छ । पुसपछि यही अवस्था रहे सञ्चारमाध्यममा सम्पती लिलामीकै कुराहरु आउनेछन् । उद्योग व्यवसाय बन्द हुने र व्यवसायी आन्दोलनमा जानुपर्ने अवस्था भएको छ । सरकारले निजी क्षेत्रको संरक्षणका लागि बाटो निकाल्नु पर्छ ।’





























प्रतिक्रिया