सबल पक्षको भरपुर सदुपयोग गरेर मेडल भित्र्याउँछौँ -मुख्य प्रशिक्षक भट्ट

सबल पक्षको भरपुर सदुपयोग गरेर मेडल भित्र्याउँछौँ -मुख्य प्रशिक्षक भट्ट

केन्द्रबिन्दु
0
Shares

नेपाल भलिबल संघमा नयाँ नेतृत्व आएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाउँदै छ । बंगलादेशको ढाकामा पुस पहिलो सातादेखि आयोजना हुने काभा यु-२३ पुरुष भलिबल च्याम्पियनसिपलाई अहिले युवा टोलीले तयारीलाई तिब्रता दिइरहेको छ । 

चार टोलीको सहभागिता रहेको प्रतियोगितामा सहभागि हुने टोलीलाई मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले प्रशिक्षण गराइरहेका छन् । पहिलो पटक सहभागिता हुन लागेको प्रतियोगितामा नेपालको लक्ष्य कम्तीमा पनि पदक रहेको छ ।

बंगलादेशको ढाकामा पुस ५ गतेदेखि ११ गतेसम्म काभा यु–२३ प्रतियोगिता आयोजना हुँदैछ । सोही प्रतियोगिताका लागि नेपाली टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा तयारी गरिरहेको छ । बिहान र साँझ गरी दुई समयमा सुखद् नतिजा निकाल्ने लक्ष्यसहित तयारीलाई तिब्रता दिइरहेको हो । पहिलो पटक सहभागिता जनाउने लागेको उमेर समूहको प्रतियोगितामा नयाँ खेलाडीलाई अवसर दिइएको छ । लामो प्रक्रियाबाट छनोट हुँदै आएका खेलाडीलाई संघले बन्द प्रशिक्षण राखेर अभ्यास गराइरहेको हो । आयोजक बंगलादेश, श्रीलंका, किर्गिस्तान र नेपालले सहभागिता जनाएको प्रतियोगितालाई सार्थक पार्न विगत ४० दिनदेखि नेपाली टोली तल्लिन छ । 

नेपाली टोलीलाई दुई सिफ्टमा अभ्यास गराइरेहका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले बलिया टोलीबिरुद्ध नेपालले प्रतिष्पर्धात्मक खेल खेल्ने विश्वास व्यक्त गरे । ८० जनाको प्रारम्भिक छनोट पार गर्दै अन्तिम १४ खेलाडीको टुङ्गो लागिसकेको अवस्थापनि नयाँ खेलाडी केही शारीरिक र मानसिक कमजोरी भएको बताए । तर पनि दैनिक ७ घण्टाको प्रशिक्षण र घरेलु टोलीसँगको अभ्यास खेलबाट मनोबल दिलाउने बताए ।

एक सातासम्म आयोजना हुने प्रतियोगिताको तालिका सार्वजनिक पनि भइसकेको छ । सार्वजनिक भएको तालिका अनुसार नेपालले उद्घाटन खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । बंगलादेश सिनियर टोलीमा नेपाल भन्दा बलियो भएपनि उमेर समूहमा नेपाल जस्तै अगाडि बढ्दै गरेको टोली हो । यस्तै अन्य प्रतिष्पर्धी टोली पनि उदाउँदै गरेका भएकाले नेपालको सम्भावना रहेको प्रशिक्षक भट्टको बुझाई छ । 

चार दशक सहभागिता जनाउन नसकेको अवस्थामा उमेर समूहको नेपाली टोलीको सहभागिता अनुभव लिने अवसर भएको भएको बताए । सहभागिता जनाउँदै गर्दा लक्ष्य स्वर्ण पदक जित्ने राखेको तर सहभागिताको हिसावमा पहिलो भएकाले कम्तीमा पनि मेडल ल्याउनेमा प्रशिक्षक भट्ट आशावादी छन् । अहिले बन्द प्रशिक्षणमा रहेको टोलीमा सबल र दुर्बल पक्ष सबै भएको र सबल पक्षको भरपुर सदुपयोग गर्दै प्रतियोगितामा नेपाली टोली अगाडि बढ्ने बताए । 
 
चार टोलीले सहभागिता जनाउने प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुनेछ । पहिलो खेल नेपालले बंगलादेशसँग खेल्दा लिगको दोस्रो खेल ८ पुसमा श्रीलंकासँग तथा ९ पुसमा किर्गिस्तानसँग खेल्नेछ । 

चार टोलीको मात्रै सहभागिता रहेकाले सबै टोली सेमिफाइनलमा पुग्नेछ । जस अन्तर्गत शीर्ष टोलीले पुछारमा रहने टोलीसँग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्दा दोस्रो सेमिफाइनल खेल दोस्रो र तेस्रो स्थानको टोलीबीच हुनेछ । नेपाल कम्तीमा पनि तेस्रो भएको अवस्थामा मेडल हात पार्नेछ । सेमिफाइनल १० पुसमा हुनेछ भने फाइनल ११ पुसमा हुनेछ ।
 
धिरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गुराउ, बिष्णु बस्नेत, सफल बिक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भीम राज गुरुङ (लिबेरो) । 

Logo