राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् ।  

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार उनले राजीनामा दिएको जानकारी दिएकाे हाे । साथै सो राजीनामा क्यानले स्वीकृतसमेत गरिसकेको छ ।तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो । उनीसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, नेपाली टोलीले लगातार खराव प्रदर्शन गरेपछि उनले पद छाडेका हुन् । 

नामिवियामा हालै सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग टू को त्रिकोणात्मक शृंखलामा नेपाल जितविहीन बनेपछि प्रभाकर भारत फर्किएका थिए । त्यसपछि उनले आजबाटै लागू हुनेगरी पदबाट विदा भएको औपचारीक जानकारी दिएका हुन् । उनको नेतृत्वमा सात ओडिआई खेल खेल्दा नेपाल पाँचमा पराजित हुँदा दुई खेलमा विजयी भएको थियो ।  

त्रिकोणात्मक शृंखलामा नेपालले नामिबियासँग एक र स्कटल्याण्डसँग दुई हार व्यहोरेको थियो भने एउटा नामिबियासँगको खेल वर्षाका कारण रद्ध भएको थियो । सो हारपछि नेपालको शीर्ष तीनमा रहने सम्भावना अन्त्य भएको थियो । प्रभावकरको प्रशिक्षणमा गत महिना घरेलु मैदानमा सम्पन्न युएईबिरुद्धको एक दिवसीय श्रृंखला भने नेपालले जितेको थियो । 

सात राष्ट्रमध्ये २४ खेलमा मात्र १८ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । शीर्ष स्थानको स्कटल्याण्डको ३२ खेलमा ४६ अंक छ भने दोस्रो स्थानको ओमानको ३६ खेलमा ४४ अंक छ । त्यस्तै तेस्रो स्थानको नामिबियाको ३० खेलमा ३७, चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ र पाँचौ स्थानको युएईको २६ खेलमा २७ अंक छ । सातौँ स्थानको पपुवा न्युगिनीको २८ खेलमा ५ अंक छ ।

Logo