तेस्रो तारा थप्ने होडमा अर्जेन्टिना र फ्रान्स !

तेस्रो तारा थप्ने होडमा अर्जेन्टिना र फ्रान्स !

केन्द्रबिन्दु
0
Shares

कतारमा जारी फिफा विश्वकपको समीकरण पूरा भइसकेको छ । बिभिन्न चरणहरु पार गर्दै फ्रान्स र अर्जेन्टिना फाइनल पुगिसकेका छन् । दुई पटक विश्वकप जितिसकेका दुबै राष्ट्रलाई जारी प्रतियोगिता जितेर आफ्नो टि–सर्टमा तेस्रो तारा थप्ने सुनौलो अवसर पौष ३ अर्थात १८ डिसेम्बरका दिन हुनेछ । 

फाइनल पुगेकामध्ये एक अर्जेन्टिना जारी प्रतियोगितामा निकै उतारचढाव पार गर्दैै फाइनलसम्मको यात्रा तय गरेको हो । समुहचरणको पहिलो खेलमै साउदीसँग हार बेहोरेपछि धेरैले जारी संस्करणमा अर्जेन्टिना समुहचरणबाटै घर फर्कने अनुमान गरेका थिए । तर पहिलो हारलाई बिर्सदै अर्जेन्टिना लियोनल मेस्सीको पे्ररणामा अघि बढ्दै गयो । गत मंगलबार राती कतारको लुसेल रंगशालामा लियोनल मेसीको जादूमयी खेलकै कारण अर्जेन्टिनाले क्रोएसियालाई सहजै ३–० ले हराएको थियो । सो खेलमा मेस्सीले १ गोल गर्नुका साथै अर्को एक गोलका लागि मद्दत गरेका थिए । जारी प्रतियोगितामा मेस्सीले ५ गोल गर्नुका साथै ३ गोलका लागि असिस्ट पनि गरेका छन् । तेस्रोपटक विश्वकप उपाधिको खोजीमा रहेको अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्पकपको उपाधि जितेको थियो । त्यसयता ऊ दुई पटक फाइनल र तीन पटक क्वार्टरफाइनलसम्म पुगेपनि उपाधि भने जित्न सकेको छैन । 

विश्वकपमा अर्जेन्टिना र फ्रान्स सन् १९३०, १९७९ र २०१८ गरी ३ पटक भेट भएको छ । पहिलो २ भेट समूह चरणमा भएको थियो जुन अर्जेन्टिनाले सहजै जितेको थियो । तर सन् २०१८ मा रसियामा भएको विश्वकपमा अर्जेन्टिनालाई राउण्ड अफ १६ मा हराएको थियो । जारी प्रतियोगितामा अर्जेन्टिना त्यो हारको बदला लिदै विश्वकपको ट्रफी जित्न चाहन्छ । समग्रमा अहिलेसम्म फ्रान्स र अर्जेन्टिनाले १२ खेल एकअर्काविरुद्ध खेलेका छन् । फाइनलमा भिड्ने यी दुई टोलीबीच केही मिल्दा विशेषता छन् । 

दुवै टोलीले समूहगत चरणमा दुई जित र एक हार व्यहोरेका थिए । पहिलो खेलमा पराजित भएपछि दबाबमा आएको अर्जेन्टिनाले अन्तिम खेल जितेरमात्र नकआउट चरणमा स्थान पक्का गरेको थियो । फ्रान्सले भने सुरुका दुवै खेल जितेर अगाडि बढ्ने निश्चित गरेको थियो । फ्रान्स र अर्जेन्टिना दुवैले सेमिफाइनलमा गोल व्यहोरेनन् । प्रतियोगितामा सर्वाधिक गोल गर्ने शीर्ष चार खेलाडीमा फ्रान्स र अर्जेन्टिनाका दुई–दुई खेलाडी छन् । अर्जेन्टिनाका कप्तानसमेत रहेका लियोनल मेस्सीले ५ गोल र तीन असिस्ट गरेका छन् भने फ्रान्सका केलियन एमबाप्पेको ५ गोल र २ असिस्ट रहेको छ । यस्तै फ्रान्सका ओलिभर जिरोड र अर्जेन्टिनाका जुलियन अल्भारेजले ४–४ गोल गरेका छन् । प्रतियोगितामा गोल्डन बुट र गोल्डन बलका लागि मेस्सी सबैभन्दा अग्र स्थानमा उभिएका छन् । 

३५ वर्षीय मेस्सीले फुटबल करिअरमा जित्न बाँकी विश्वकप मात्रै हो । अब आइतबार फाइनल जितेर आफ्नो सबैभन्दा ठूलो सपना पूरा गर्न चाहन्छन् । क्लब फुटबलमा सबै उपलब्धि हासिल गरिसकेका मेसीले मंगलबार करिअरको १००२ औं खेल खेले । मेस्सीले अहिलेसम्म करिअरमा ७९१ गोल र ३४० एसिस्ट गरिसकेका छन् । मेस्सीले एउटा खेलाडीले प्राप्त गर्न सक्ने लगभग सम्पूर्ण ट्रफी जितिसकेका छन् । आइतबारको खेलपछि मेस्सीले अर्को संस्करणको विश्वकपमा भाग नलिने घोषणा गरिसकेका छन् । सोही कारण अर्जेन्टाइन खेलाडीहरु मेस्सीलाई विश्वकपको उपाधि जिताएर सुखद बिदा गर्न चाहन्छन्।

४ वर्षको उमेरदेखि फुटबल खेल्न सुरु गरेका ३५ वर्षीय मेस्सीले स्पेनिस क्लब बार्सिलोनामा २० वर्ष खेल्दा ३५ उपाधि जितेका थिए । यस्तै सन् २०२१ मा फ्रेन्च क्लब पिएसजी गएका मेस्सीले पिएसजीका लागि लिग वानको उपाधि जितेका थिए । यस्तै मेस्सीले गत वर्ष नै अर्जेन्टिनाका लागि कोपा अमेरिका जिताएका थिए । जारी सिजन पिएसजीका लागि २० खेलमा १२ गोल गरिसकेका मेस्सीले ७ बालोन डी ‘ओर जितिसकेका छन् । तर फुटबल इतिहासमै महान् मानिने ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनासँग तुलना गर्दा ३५ वर्षका मेस्सीले सबैभन्दा महत्वपूर्ण उपाधि विश्वकप भने जित्न सकेका छैनन् ।

पछिल्लो पटक म्याराडोनाको नेतृत्वमा अर्जेन्टिनाले ३६ वर्षअघि विश्वकप जितेको थियो । के मेस्सीले झन्डै चार दशक अघिको त्यो सफलता दोहोर्याउन सक्लान् त ? ८ वर्षअघि फाइनल पुगेर पनि खाली हात फर्केका मेस्सी पूनः एक पटक उपाधिका लागि एक कदम मात्रै पछि छन् । निकै उत्कृष्ट ड्रिब्लिङ गर्ने मेस्सीले फुटबल खेलप्रति हेर्ने नजर नै परिवर्तन गरेका छन् । उनको ड्रिब्लिङ शैलीलाई देखेर मानिसहरु उनलाई जादुई अर्थात म्याजिक मेस्सीका नामले चिन्छन् ।   

१८ वर्षको उमेरमा हंगेरीविरूद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका मेसी ४ संस्करणको विश्वकप र सन् २०१६ को कोपा अमेरिकामा चिली विरुद्धको हारपछि सन्यास घोषणा गरेका थिए । तीन वर्षमा तीन ठूला प्रतियोगिताको फाइनल पुगेर पनि उपाधिविहीन भएकाले मेस्सीले यस्तो निर्णय लिएका थिए । तर समर्थकको माया र हौसलाका कारण उनी पुन राष्ट्रिय टोलीमा फर्किए । मेस्सीले अर्जेन्टिनाका लागि ९६ गोल गरिसकेका छन् । गोल संख्याका आधारमा विश्वमा तेस्रो र अर्जेन्टिनाका लागि पहिलो नंबरमा आउँछन् उनी । 

जारी प्रतियोगितामा साउदी विरुद्ध पहिलो खेलमै एक गोल गरेका मेस्सीले ६ मध्ये ५ खेलमा ५ गोल गरेका छन् । ५ औं संस्करण खेलिरहेका मेस्सीले विश्वकपमा अर्जेन्टिनाका लागि ११ गोल गरेर सबैभन्दा धेरै गोल गर्ने रेकर्ड राखेका छन् । ३५ वर्षीय मेस्सी एक्लैले अर्जेन्टिनालाई फाइनलसम्म दोर्याएका हुन् भन्दा अतिशयोक्ति नहोला ? बललाई एक्लै लिई विपक्षी खेलाडीलाई नचाउँदै गोलकिपरलाई सहजै बिट गरी आकर्षक गोल गर्ने मेस्सी जारी प्रतियोगितामा २५ वर्षका खेलाडी जस्ता देखिन्छन् । ३५ वर्षमा शरीर र हिम्मतले पनि हार मान्ने बेला मेस्सी एक्लै टोलीलाई दोहोर्याइरहेका छन् । 

मेसीलाई देख्दा लाग्छ उनी चाहेको कुरा पूरा गरेरै छाड्छन् । मैदानमा उनी रहँदा फुटबल खुट्टामा टाँसिए झैँ लाग्छ । कलात्मक रुपमा बल अघि बढाउने र गोल गर्ने उनको शैली विश्व फुटबलमा भिन्न छ । उनी स्वयम् गोलकर्ता मात्र बन्दैनन्, खेलको योजनाकार जस्ता पनि लाग्छन् । यसैले पनि उनी दर्जनौँ कीर्तिमान बनाउन सफल भएका छन् । आइतबार लुसेल रंगशालामा मेस्सीको जादु चलेमा ३६ वर्षपछि मेस्सीले अर्जेन्टिनाका लागि विश्वकपको उपाधि जिताउन सक्छन् ।

 

Logo