प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले लिए सपथ

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले लिए सपथ

केन्द्रबिन्दु
0
Shares

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ लिएका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार ज्येष्ठ सदस्य पशुपति शमशेर राणाबाट सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित प्रतिनिधिसभाका दुई सय ७५ सांसदले आज शपथ लिएका हुन् । उनीहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । 

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि र स्वतन्त्र सांसद सहभागी थिए ।

बैठकमा संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सबै नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवं शुभकामना व्यक्त गर्नुका साथै संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराएका थिए । 

Logo