अमेरिकामा नेपाली दूतावासको गाडी लुटपाट

अमेरिकामा नेपाली दूतावासको गाडी लुटपाट

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको ह्यूस्टनमा नेपाली राजदूतावासले कन्सुलर सेवा शिविर सञ्चालनमार्फत जम्मा गरेको रकम लुटिएको छ । राजदूतावासले १५ देखि २० डिसेम्बरसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा कन्सुलर सेवा शिविर सञ्चालन गर्दा सेवाग्राहीबाट शुल्कबापत जम्मा भएको ‘मनी अर्डर’ र ‘क्यासिएर चेक’ लुटिएको हो ।

वासिङटनस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै घटनाको सम्बन्धमा तत्कालै ह्युस्टन प्रहरी र कुटनीतिक सुरक्षा महाशाखालगायत निकायहरूमा उजुरी गरिसकेको र लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिने प्रयास भइरहेको जनाएको छ।

लुटिएको रकम फिर्ताका लागि सार्वजनिक रूपमा सहयोगका लागि अनुरोध गर्दै दूतावासले विज्ञप्तिमा आफ्ना कर्मचारीहरु २२ डिसेम्बरमा ह्युस्टनबाट वासिङ्टन डीसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारी साधन स्थानीय समयअनुसार दिउँसो १२ बजेर तीन मिनेट जाँदा तोडफोड भई लुटिएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको भनिए पनि कर्मचारी र लुटिएको रकमबारे खुलाइएको छैन । ‘यसबाट सेवाग्राहीहरुमा समय र स्रोत सधानको हिसाबले पर्न जाने असुविधाप्रति राजदूतावास क्षमाप्रार्थी छ,’ दूतावासले भनेको छ, ‘सेवाग्राहीहरुको नजिकै गइ सेवाप्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजस्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकावासी सम्बन्धित सबै नेपाली सेवाग्राहीहरुले यथासक्य सहयोग गर्नुहुनेछ भन्ने दूतावास आशावादी छ ।’

दूतावासले कन्सुलर सेवा शिविरहरूबाट सेवा प्राप्त गर्ने सबै नेपाली सेवाग्राहीहरूले सेवा प्राप्त गर्दा गरेको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ सम्भव भएसम्म रद्द गर्नको लागि समेत आग्रह गरेको छ ।

Skip This
Skip This
Logo