कतारमा नेपालीका दुःख र पीडा : आज पनि स्वदेश फर्किए १५५ नेपाली

कतारमा नेपालीका दुःख र पीडा : आज पनि स्वदेश फर्किए १५५ नेपाली

केन्द्रबिन्दु
0
Shares

तिलु शर्मा पौडेल
दोहा कतार ।

कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीहरूलाई स्वदेश फर्काउने सरकारको निर्णय बमोजिम गए राति कतारबाट हिमालयन एयरलाईन्सले २६ औ सहजिकरण उडान गरेको छ । उक्त उडानमार्फत ५ महिलासहित १५५ जना नेपाली स्वदेश फर्किएको जानकारी नेपाली राजदूतावासका द्वित्तिय सचिव ऋचा भट्टराईले जानकारी दिएकी छिन् ।

आफ्नै खर्चमा उडनेहरु

कोरोनाका कारण कतिपय कम्पनी बन्द जस्तै छन् भने कति कम्पनिका मालिक नै फरार छन् । कतारमा अन्तर्राष्ट्रिय उडान पूर्व कतार छाडेका कम्पनिका मालिकहरू जे सक्छस् गरेर जा भनेर उम्किरहेको अवस्था छ । यही मारमा परेका हुन् नवलपरासीका वारिस अलि देवान । ३ वर्षदेखि कतारमा कार्यरत उनी विगत ७ महिनादेखि बेरोजगार जस्तै बने । अलि जस्तै बेरोजगार बनेका हुन् महोत्तरीका चन्द्र शेखर यादव । कम्पनिको मालिकले सेलरीमै शोषण गरे पछि टिकट पाउने कुरा आकाशको फल जस्तै भएको उनले बताए । एक दशकदेखि कतारलाई कर्मथलो बनाएका सुनसरीका सागर विश्वकर्माले कम्पनिमा रिजाईन गरेर दुई सालसम्म कम्पनिबाट आफूले पाउनु पर्ने सेवा सुविधाको लागि कम्पनी विरुद्ध अदालतमा मुद्दा लडदा समेत न्याय नपाएपछि थकित मुद्रामा आफ्नै खर्चमा कतारलाई अलबिदा गर्दै श्रमिकलाई कानुनले माया गरे पनि मालिकले शोषण गर्ने गरेको बताए ।

श्रमिकका समस्याको चाङ यतिमा मात्र सकिंदैनन् । सप्तरीका इन्द्र कुमार रामसहित ४ जना २ सालदेखि कार्यरत रहेको कम्पनिमा पछिल्लो ६ महिना बेरोजगार भएर बसे । कम्पनिले टिकट दिन नमानेपछि दूतावास तथा प्रहरी प्रशासन समेत पुगे तर न्याय पाएनन् । कम्पनिले दोहोरो चरित्र देखाउँदा न्याय नपाएको उनीहरूको ठम्याई छ । हुने हार दैव नटार भए पछि ऋण खोजेर टिकटको जोहो गरी स्वदेशको यात्रा तय गरे । नेपालगन्जका अर्जुन केसीसहित १२ जना नेपाली कार्यरत कम्पनिले कसैलाई टिकटसम्म दिएन । अप्रिल १६ बाट बेरोजगार बनेका उनीहरूको पीडा पनि कम दर्दनाक थिएन । केन्द्रबिन्दुसँगको भेटमा उनीहरूले न्यायका लागि पहलको याचना गरे ।

माथिका दुःखका पहाड प्रतिनिधि पात्र हुन् । कतारबाट हुने हरेक उडानमा यस्तै प्रकृतिका समस्यासँग जुधेर पनि हारेर कतार छोड्ने नेपालीहरू ब्रगेल्ति भेटिन्छन् । पीडासँग हारेका नेपालीहरूलाई झन् पीडा दिने काम चार्टर उडानका नाममा एयरलाईन्सहरुले गरेका छन् । चर्को भाडादर र लगेजमा गरेको कटौतीका कारण यात्रीहरू नेपाल तथा हिमालयन एयरलाइन्ससँग रुष्ट बनेका छन् । समान मूल्यमा नेपाल एयरलाईन्सले २५ किलो लगेजको सुविधा दिईरहँदा हिमालले त्यो भन्दा ५ किलो कम लगेज अनुमति दिएर शोषण गरिरहेको प्रति ललितपुर चापागाउँ भट्टेडाँडाकी सन्जु जिम्बा रुष्ट बनिन् । उनी जस्तै म्याग्दीका याम तथा गोकुल बिक रुष्ट बने । कतार बसाईलाई टुङ्गाउँदा स्वतः सामान धेरै हुने तर महँगो भाडादरमा लगेज कटौती गरी मजदूर शोषण गरेको बताए म्याग्दीकै दल बिकले ।

कतारबाट हालसम्म कुल ४ हजार ७ सय ४९ तथा विभिन्न समयमा विभिन्न कारणले मृत्युवरण गरेका ४६ जना नेपालीको शव नेपाल गई सकेको छ ।

Logo