इरान सरकारले देशका सर्वकालीन महान् खेलाडी अली दाईको परिवारलाई देश बाहिर जान रोक लगाएको छ।
इरानले महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भइरहेको विरोध प्रदर्शनलाई समर्थन गरेको भन्दै अली दाईका श्रीमती र छोरीलाई देश छोड्न रोक लगाएको हो। ५३ वर्षीय पूर्व खेलाडीका आफ्नो परिवार बिदा मनाउन तेहरानबाट दुबई आउने क्रममा रहेको जहाजलाई एउटा इरानी टापुमा अवतरण गर्न लगाएर उनीहरूलाई यात्रा गर्न रोक लगाएको थियो। ‘यात्रा प्रतिबन्धबारे कुनै कारण दिइएको छैन’, अली दाईले भने, ‘अहिले मेरो परिवार तेहरान फर्कदैछ।’ दाईका अनुसार उनको परिवार केही दिन छुट्टि मनाएर स्वदेश फर्कने तयारीमा थिए।
मसाहा अमिनीको मृत्युपछि अली दाईले इन्स्टाग्राममा निरन्तर सरकारविरोधी पोस्ट गरेको भन्दै सरकारले उनको पासपोर्ट यसअघि नै जफत गरेको थियो।सेप्टेम्बरमा एक सोशल मिडिया पोस्टमा उनले सरकारलाई दमन, हिंसा र गिरफ्तारी प्रयोग गर्नुको सट्टा इरानी जनताको समस्या समाधान गर्न आग्रह गरेका थिए। डिसेम्बरको सुरुमा तेहरानमा उनको गहना पसल र रेष्टुरेन्ट सरकारले बन्द गरिदिएको थियो। गिरफ्तारीको अतिरिक्त, इरानी अधिकारीहरूले ठूलो प्रदर्शनलाई समर्थन गरेपछि अधिकांश सेलिब्रेटी, कलाकार र प्रमुख व्यक्तिलाई देश छोड्न प्रतिबन्ध लगाएको छ।
पूर्वस्ट्राइकर अली दाईको नाममा सन् २०२१ सेप्टेम्बरसम्म सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान थियो। सन् २०२१ सेप्टेम्बरमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोले अली दाईको नाममा रहेको १ सय ९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान तोडेका थिए। अली दाई युरोपियन लिग खेल्ने पहिलो इरानका खेलाडी हुन्। उनले जर्मन बुन्डेसलिगाको क्लब आर्मेनिया बेहिल्फिल्ड, बायर्न म्युनिख र हर्था बर्लिनबाट खेलेका थिए।
गत सेप्टेम्बरमा २२ वर्षीय इरानी–कुर्द महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा प्रदर्शन सुरू भएको थियो। तेहरानबाट सेप्टेम्बर १३ तारिखमा पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको हिरासतमा रहँदा ज्यान गएको थियो। उनलाई अनुचित रूपमा टाउकोमा स्कार्फ लगाएको आरोपमा पक्राउ गरिएको थियो। त्यसयता भएका हिंसामा ६९ बालबालिकासहित ५०० भन्दा बढी प्रदर्शनकारी मारिएका छन् भने हजारौंलाई गिरफ्तार गरिएको मानवअधिकारकर्मीले बताएका छन्। दर्जनौं इरानी सुरक्षाकर्मी पनि मारिएको बताइएको छ।





























प्रतिक्रिया