दैनिक बिरामीको उपचारमा खटिने डा तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहेकी डा कार्कीले अब प्रतिनिधिसभा सदस्यका रूपमा आफ्नो परिचय बनाएकी छन् । गत मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् । आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तर पारेर उनी जनताबाट अनुमोदन भएकी छन् ।
पेशाले चिकित्सक उनको ध्यान सरकारमा रहेर स्वास्थ्य सेवा सुधार्नेतर्फ रहेको छ । त्यसैका लागि उनको पार्टी सरकारमा सहभागी भएको उनको धारणा छ । सरकारले पूर्णता पाउने तयारीमा रहेका बेला डा कार्की आफ्नो विज्ञताअनुसार पार्टीले आफूलाई सरकारमा सहभागी गराए स्वास्थ्यमन्त्रीका रूपमा काम गर्ने अपेक्षा राखेकी छन् । आफू सरकारमा गए नेपाली जनतालाई सर्वसुलभरूपमा गुणस्तरीय स्वास्थ्य सेवा पु-याउने पहिलो काम नै रहेको उनी बताउँछिन् ।
कति मानिसले गरिबीका कारण स्वास्थ्य सेवा पाउन नसकेको उनी आफैँले देखेकी छन् । ती गरिब र निमुखा पैसाको अभावले उपचार सेवाबाट बञ्चित हुन नपरोस् र सबै नेपालीले संविधानको व्यवस्थाअनुसार आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन उनी आफू लागिपर्ने बताउँछिन् । उनी भन्छिन्- “पैसाको अभावले उपचार गर्न नपाएर मर्नुपर्ने अवस्था, आकस्मिक स्वास्थ्य सेवाबाट बिरामीले उपचार गर्न नपाइरहेको मैले आफ्नो आँखाले देखेँ । तर मलाई कताकता नराम्रो लाग्यो । तर म त्यतिबेला काउन्सिलमा रहेको थिएँ । त्यहाँबाट समग्र स्वास्थ्य सेवा सुधार गर्ने अवस्था थिएन । अब राजनीतिबाट नै समाजलाई परिवर्तन गर्नुपर्दछ भनेर राजनीतिमा आफूलाई सक्रिय गराएको हुँ ।”
यस्तै सांसद कार्कीको ध्यान अहिले कोरोना भाइरस नियन्त्रणमा समेत रहेको छ । छिमेकी मुलुक भारत र चीनमा विएफ–७ नामक नयाँ भेरियन्ट फैलिरहेको अवस्थामा नेपालमा पनि नआउला भन्न सकिन्न । त्यसैले उक्त नयाँ भाइरसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर पनि आफ्नो कार्ययोजना बनाइरहेकी छन् ।
डा. कार्की मुलुकका परम्परागत राजनीतिक दलको नेतृत्वले मुलुकलाई सही गन्तव्यमा लैजान नसकेको पनि टिप्प्णी गर्छिन् । यस्तो अवस्था भएपछि आफू नै राजनीतिमा आएको उनी बताउँछिन् । आफूभन्दा वरिष्ठ चिकित्सक भए पनि उनीहरूबाट राम्रो स्वास्थ्य सेवा दिन नसकिरहेको, गुणस्तरीय स्वास्थ्य सेवा जनतासमक्ष नपुगेकोले समग्र स्वास्थ्य सेवालाई सुधार्नका लागि चिकित्सक पेशा सम्भव नभएपछि आफूले राजनीति रोजेको उनको तर्क छ ।
राससका समाचारदाता शरद् शर्माले स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेर गरेको कुराकानीमा उनले भनेकी छन् -“एउटा चिकित्कसले मात्र समग्र स्वास्थ्य सेवा सुधार गर्न नसक्ने अवस्था मैले देखेँ । समग्र स्वास्थ्यको विकृति, विसगङ्ति सुधार गर्नका लागि त जनप्रतिनिधि हुनुपर्दछ भन्ने मलाई लाग्यो । अनि राजनीतिमा हामफालेको हुँ । मलाई लाग्छ म सफल पनि भएँ । अब जनताको सेवा गर्नु मेरो कर्तव्य हो ।”
आफूले स्वास्थ्य क्षेत्रमा विद्यमान रहेका विकृति, विसङ्गति बुझेको र यो अवस्थाको अन्त्यका लागि देशको स्वास्थ्य क्षेत्रलाई केन्द्रविन्दुमा राखेर राजनीतिमा लागेको उनको भनाइ छ ।





























प्रतिक्रिया