काठमाडौं ।
कोरोना भाइरस संक्रमणको दर दैनिकरुपमा बृद्धि हुन थालेको छ । यसरी संक्रमण बढ्दै गएकाले सरकारले भाइरस रोकथामको लागि पूर्णरुपमा सञ्चालनमा आएका यातायात सवारी जोरविजोर सुरु गर्नुको साथै आइतबारदेखि उपत्यकामा १५ दिनको लागि सटडाउन हुने भएको छ ।
यसरी सटडाउन सुरु हुन थालेकाले भाद्र १ गतेदेखि सरकारले खुल्ला गर्ने भनिएको राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई उडान र लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनको निर्णय समेत अन्योल बनेको छ । पछिल्लो समय देशव्यापी रुपमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढेर गएसँगै हवाई उडान खुल्ला गर्ने निर्णय अन्योल बन्न पुगेको हो ।
सरकारले गत श्रावण ५ गतेको मन्त्रिपरिषदको निर्णयले आगामी भाद्र १ गतेबाट आन्तरिक तथा बाह्य हवाई उडानसहित देशैभरका लामा तथा छोटा दुरीका सबै खाले सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको थियो ।
तर, पछिल्लो समय देशका विभिन्न भागका साथै काठमाडौँ उपत्यकामा नै कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले आइतबार देखि १५ दिनका लागि कडाइ गर्ने उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले निर्णय गरिसकेका छन् । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले समेत आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु र लामो दूरीका यातायात खुल्ने अवस्था न्यून भएको बताएका थिए ।
तर, कोरोना भाइरसको महामारीको अवस्थामा पनि अति आवश्यक कामका लागि सर्वसाधारणहरु एक ठाउँबाट अर्को ठाउँमा जानको लागि ५ सय रुपैयाँ भाडा लाग्ने ठाउँमा १५ हजार रुपैयाँ तिर्न बाध्य भएका छन् ।
सरकार नै उडान खोल्ने की नखोल्ने भन्ने अन्योलमा छ तर एयरलाइन्सहरु तथा उडान प्राधिकरणले समेत उडानको तयारी पूरा गरेर तयारी अवस्थामा रहेको बताएका छन् । यता हवाई उडानका लागि तयारीसहित बुद्ध एयरले अत्यन्त न्यून सात क्षेत्रको हवाई भाडा सार्वजनिक गरेको छ । करिव पाँच महिना लामो लकडाउनपछि भदौ १ गतेबाट आन्तरिक उडान गर्ने सरकारी निर्णयसँगै बुद्धले भाडादर सार्वजनिक गरेको हो ।
सार्वजनिक यातायात भन्दा स्वास्थ्य सुरक्षाको हिसावले एयरलाइन्सहरुमा सुरक्षित हुने दाबीसहित बुद्धले नयाँ भाडादर सार्वजनिक गरेको छ । सबै यात्रुको पहुँच जहाजसम्म पुगोस् भन्ने उद्देश्यले भाडादर सार्वजनिक गरिएको बुद्ध एयरले जनाएको छ ।
संक्रमणरहित हवाई यात्राका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहोरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज तथा फेसशिल्डको प्रयोग अनिवार्य गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने एयर लाइन्सको सूचनाका उल्लेख गरेको छ ।
त्यस्तै, एयर लाइन्सले एकतर्फि भाडा अत्यन्तै न्युन सार्वजनिक गरेको छ । जस अनुसार विराटनगर ३ हजार, भैरहवा २ हजार ७००, नेपालगञ्ज ४ हजार २००, पोखरा १ हजार ९००, भद्रपुर ३ हजार ४००, जनकपुर २ हजार ७०० र धनगडी ५ हजार ४०० भाडादर तोकेको छ ।

यस भन्दा अगाडि नै बुद्ध एयरले कोभिड–१९ बाट बचेर सुरक्षित यात्राका लागि सुरक्षा निर्देशिका बनाई पूर्व अभ्यास गरि सकेको छ । हरेक उडान अगाडि जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाई, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पिपिई प्रदान गरिसकेको छ ।
हवाई यात्रामा हरेक यात्रुलाई पहिचान गर्न एकद्वार प्रणाली अपनाई कम्प्युटर सिस्टम पनि अपडेट गरिएको बताइएको छ । यसले महामारी रोकथामको लागि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्याक्ट ट्रेसिङ कम्प्यूटर सिष्टमबाट केही क्षणमै राज्यलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।































प्रतिक्रिया