उखु किसानको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न ध्यानाकर्षण

उखु किसानको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

उखु किसानको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा उखु किसानहरुको समस्याको सम्बन्धमा छलफल गर्दै राष्ट्रिय सभाका सांसदहरुले समस्याको समाधान दीर्घकालिन रुपमा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उखु किसानहरुको समस्यालाई बारम्बार बल्झाउनु नहुनेमा सांसदहरुले जोड दिएका छन् । 

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नगदेबालीको रुपमा रहेका उखु लगायतका बालिहरुलाई व्यक्तिगत रुपमा मात्रै लगाएमा समस्या दोहोरिइरहने बताए । उनले उखुबालीलाई सामुहिक उत्पादन गर्नुपर्ने बताए । उखु उत्पादन व्यवस्थित रुपमा नभएको भन्दै उहाँले उखु उत्पादनलाई व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए । 

त्यस्तै, चिनी उद्योगलाई पनि व्यवस्थित गर्नुपर्ने उनको भनाई छ । देशमा चिनीको कति खपत हुन्छ भन्ने निक्र्यौल गरेर उपभोग गर्न पुग्नेगरी देशमै उत्पादन गर्नुपर्ने राष्ट्रिय सभा सदस्य गौतमलेले बताए । 
 
त्यसैगरी राष्ट्रिय सभा सदस्य कमला पन्तले उद्योगीले किसानलाई समयमै रकम भुक्तानी नगर्ने गरेको भएपनि यसप्रति सरकार गम्भिर नभएको बताइन् । उनले उखु उत्पादनलाई सहकारीको माध्यमबाट अगाडी बढाउन सके राम्रो हुने धारणा व्यक्त गरिन् । नीजि क्षेत्र, सरकार र सहकारी मिलेर उखु उत्पादन गर्नुपर्नेमा उनको जोड छ । 

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले सरकारले नीतिगत निरन्तरता नदिनाले उखु किसानको समस्या समाधान हुन नसकेको बताइन् । उनले सरकार बदलिनासाथ नीति पनि बदलिने हुँदा उखु किसानको समस्या दिनप्रतिदिन बल्झिएको बताइन् । समस्या समाधानका निम्ति एउटै नीतिको निरन्तरता हुनुपर्ने उनले उल्लेख गरिन् । 

राष्ट्रिय सभा सदस्य भट्टले किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई कानूनी दायरामा ल्याउन र भुक्तानी दिलाउन किन रोकिएको भनि सरकारलाई प्रश्न समेत गरिन् । 
 
त्यस्तै, राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले किसानहरु उखु उत्पादनका लागि प्रोत्साहित हुन नसकेको बताए । उनले देशभित्रका किसानलाई उखु खेतीमा प्रोत्साहित गर्न र देशलाई आर्थिक रुपमा सबल बनाउन देश बाहिरबाट नीति आयात हुन नदिने नीति बनाए । 

राष्ट्रिय सभा सदस्य सिंगबहादुर विश्वकर्माले किसान, उद्योगी र सरकार कसैलाई पनि मार नपर्नेगरी उखुको मुल्य निर्धारण हुनुपर्ने बताए । 

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसानलाई उखु किसान भएरै बाँच्न दिन सरकार समक्ष आग्रह गरे । उनले देशलाई कृषि प्रधान देश भनिएपनि उद्योग प्रधान देश बनेको टिप्पणी गरे । उखु किसानका धेरै समस्या रहेको भन्दै समस्या समाधानका निम्ति सरकारले चासो नदिएको उनले बताए ।

अध्यक्ष मैनालीले आफुहरुले उखु शुन्य मुल्यमा बेच्न बाध्य भएको बताए । उखु खेतीका लागि बैंकमा ऋण लिन जाँदा खेतको चिसो सकिइसकेपछि ऋण स्वीकृति हुने गरेको भन्दै सोही कारण उत्पादन बढाउन नसकिएको गुनासो गरे । उखु किसानका समस्याहरु समाधान हुन नसक्दा उखु किसान उखु खेतीबाटै पलायन हुने गरेको उनको भनाई छ । उचित मुल्य नपाउँदा किसानलाई उखु खेती नगर्न आह्वान गर्नुपर्ने अवस्था आएको उनले बताए ।

Logo