प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियामा ज्यान गुमाएका निराकर पाण्डेको शव नेपाल ल्याउन सहजीकरण गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव शंकरदास बैरागीलाई सक्दो छिटो शव फिर्ताको लागि सहजीकरण गर्न निर्देशन दिएको प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए। ‘निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। र, मुख्य सचिवज्युलाई मृतक पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिनुभएको छ,’ उनले भने।
कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलामा झापा बिर्तामोड नगरपालिका–१ का निराकर पाण्डे फसेका थिए। त्यहाँबाट निस्किन सम्भव नभएपछि उनले आफ्नो परिवारसँग अन्तिम कुराकानी गरेका थिए। त्यसपछि उक्त १२ औं तलाबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो। होटलमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको थियो। यस घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दुःख समेत व्यक्त गरेको संयोजक शर्माले बताए।





























प्रतिक्रिया