नयाँ दिल्ली ।
भारतको केरलामा एयर इन्डिया एक्सप्रेसको बोइङ ७३७ को हवाईजहाज दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । दुबईबाट भारतीय यात्री बोकेर केरलाको कोझिकोड अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका वेला धावनमार्गबाट चिप्लिएर जहाज दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
केरलामा भीषण वर्षा भएका कारण जहाज चिप्लिएर दुई टुक्रा भएको त्यहाँको नागरिक उड्डयन महानिर्देशनालयलाई उद्धृत गर्दै दैनिक जागरणले जनाएको छ । केरलाका स्वास्थ्यमन्त्री केके शैलजालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले शुक्रबार मध्यरातसम्म कम्तीमा १६ जना यात्रीको मृत्यु भएको जानकारी दिएका छन् । दुर्घटनामा विमानका क्याप्टेन दीपक वसन्त साठे, को–पाइलट अखिलेससहित चालक दलका सदस्यको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
कारीपुर पनि भनिने विमानस्थलमा दुर्घटनाग्रस्त भएको जहाजमा जम्मा एक सय ९१ जना सवारमध्ये १० जना नवजात शिशुसहित एक सय ८४ यात्री, दुईजना पाइलट, पाँचजना चालक दलका सदस्य थिए । भारतीय समयअनुसार साँझ ७ः४० मा विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट ३५ फिट तल चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।
बन्दे भारत मिसनअन्तर्गत विदेशमा रहेका भारतीय नागरिक फर्काउने क्रममा जहाज दुबईबाट केरल पुगेको थियो । सवार यात्रुमध्ये एक सय २३ जनाभन्दा बढी घाइते छन् भने १५ जनाको अवस्था गम्भीर रहेको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ ।नयाँ पत्रिकाबाट































प्रतिक्रिया