काठमाडौं ।
दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवालाई कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लाग्न सकेको छैन । यातायात व्यवस्था ऐनमा नसमेटिएको यो सेवालाई न त कुनै व्यवस्थामा समेटिएको छ न त कारवाहीको दायरामा नै ल्याइएको छ ।
संशोधनका क्रममा रहेको सवारी तथा यातायात व्यवस्था ऐनमा सो व्यवस्था समेट्ने गरी छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताए। उनका अनुसार मन्त्रालयले यो सेवा कानूनको दायरामा ल्याएर सञ्चालन गर्ने योजना बनाएको छ । विभागबाट मन्त्रालय पुगेको सो विधेयकमा नयाँ आएका सवारी साधनसमेत समेट्ने गरी छलफल अघि बढेको छ । उनले भने, “अहिलेको समयमा नकार्न नसकिने यी सेवालाई कसरी समेट्ने भनी छलफल भइरहेको छ ।”
हाल नेपालमा टुटल, पठाओ, सारथी लगायतका संस्था यो सेवामा छन् । पछिल्लो झण्डै पाँच वर्षमा यो सेवाप्रति यात्रुको आकर्षण बढेको छ । बन्दाबन्दी खुकुलो बनाएर सरकारले गत असारदेखि निजी नम्बर प्लेटका सवारी साधन सञ्चालन थालेसँगै यसको प्रयोग अझै बढेको पाइन्छ ।
सवारी ऐनमा रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्न नपाउने व्यवस्थाकै आधारमा यातायात व्यवस्था विभागले सेवा रोक्न पटक पटक प्रयास गरे पनि आमनागरिकको यसप्रतिको आकर्षणका कारण निर्णय फिर्ता लिएको थियो । सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्ने, तोकिएभन्दा बढी भाडा लिने, छोटो दूरीमा रोकिरहँदा गन्तव्यमा पुग्न घण्टौँ लाग्ने हुँदा सेवाग्राहीमा यी सेवाप्रतिको आकर्षण बढिरहेको छ ।रासस





























प्रतिक्रिया