प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।
आईतवार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग दुई शीर्ष नेताहरुले भेट गरेका हुन् ।
भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले दुई राजनीतिक दलहरु सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताए । उनले छलफलमा विश्वासको मत लिने बारेमा नै छलफल भएको र दुई नेताहरु सकारात्मक रहेको बताए ।
त्यस्तै, जसपाका अध्यक्ष यादवले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको र पुनः छलफल हुने बताए । उनले पार्टीले भने प्रधानमन्त्रीलाई समर्थन गरेको बताए । बैठकपछि संसदीय दलको कार्यालयबाट निस्किने क्रममा नेताहरुमा नैराश्यता भने स्पष्ट देख्न सकिन्थ्यो ।
यही पुस १० गते एक सय ६९ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ ।





























प्रतिक्रिया