स्ववियु निर्वाचनका लागि शिक्षाध्यक्षको संयोजकत्वमा समिति गठन हुने

स्ववियु निर्वाचनका लागि शिक्षाध्यक्षको संयोजकत्वमा समिति गठन हुने

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन शिक्षाध्यक्षको संयोजकत्वमा समिति गठन गर्ने भएको छ ।

चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन गराउन त्रिवि कार्यकारी परिषद्ले शिक्षाध्यक्षको संयोजकत्वमा समिति गठन गर्न लागेको हो । शिक्षाध्यक्षको नेतृत्वमा केन्द्रीय स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समिति बन्ने र सोही समितिले निर्वाचन गराउनेछ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले समिति गठनका लागि कार्यकारी परिषद्लाई सिफारिस गर्नेछ । सोही आधारमा परिषद्ले समिति गठन गर्ने निर्देशनालयका निर्देशक प्रोफेसर पशुपति अधिकारीले जानकारी दिए ।

त्रिवि कार्यकारी परिषद्को शुक्रवार बसेको बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । निर्देशनालयको सिफारिसमा परिषद् बैठकले स्ववियु निर्वाचन मिति टुङ्गो लगाएको थियो । समिति गठन भइसकेपछि उक्त समितिले स्ववियु चुनाव कार्यतालिका सार्वजनिक गर्नेछ । र सोही आधारमा चुनाव हुनेछ ।

हरेक २÷२ वर्षमा स्ववियु चुनाव गराउनुपर्ने कानुनी व्यवस्था भए पनि २०६५ सालयता त्रिविमा स्ववियु चुनाव हुन सकेको छैन । लामो समयदेखि चुनाव हुन नसक्दा विद्यार्थीका तमाम समस्या समाधान हुन सकेका छैनन् । विश्वविद्यालयमा एक किसिमको वेथिति नै मौलाएको छ । त्रिविमा देखिएका विद्यार्थी तथा त्रिविका समस्या समाधानका लागि भएपनि चुनाव गराउनुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको थियो ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविमा जतिसक्दो चाडो स्ववियु चुनाव गराउन त्रिविलाई निर्देशन दिएका थिए । सोही आधारमा त्रिविले चुनावी गतिविधि अगाडि बढाएको हो । चुनावको घोषणा गरेको त्रिविलाई जुनसुकै हालतमा पनि चुनाव गराउन विद्यार्थी संगठनहरूले आग्रह गर्दै आएका छन् । त्यसका लागि आफूहरूले त्रिविलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Logo