प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । मंसीर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो ।
बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् । राष्ट्रपति भण्डारीले पठाको पत्र पढेर सुनाउँदै उनले भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत २०७९ साल पुस २५ गते सोमबारको दिन १३ः०० बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।’
त्यसैगरी राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ती र मन्त्रीपरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ ।
नवनिर्वाचित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको छ । सबै दलका संसदीय दलका नेताहरुले दलीय प्रतिनिधित्वको आधारमा सम्बोधन गर्ने कार्यसूचि रहेको छ ।
एमालेसहितका राजनीतिक दलहरुको समर्थनमा प्रतिनिधिसभामा तेस्रो ठूलो दलको रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए भने पुस ११ गते ८ सदस्यीय मन्त्रीपरिषद् गठन भएको थियो । प्रधानमन्त्री दाहालले भोली मंगलबार संसदमा विश्वासको मत लिनेछन् । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस भने प्रमुख प्रतिपक्षको रुपमा रहेको छ ।





























प्रतिक्रिया