बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले मंगलबार बिहान शपथ लिएका छन् ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री जम्कट्टेललाई सपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री जम्कट्टेलले सपथसँगै पहिलोचरणमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । मुख्यमन्त्रीको सिफारिशमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना मन्त्री नियुक्तिसँगै मङ्गलबारनै सपथ ग्रहण गराइएको छ । एमालेबाट बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाबाट संसदीय दलका नेता उद्धब थापा मन्त्री बनेका छन् । थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने थापाले जिम्मेवारी पाउने मन्त्रालय पछि तोकिने भएको छ ।
मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका विचमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेलले बताए । उनले बागमती प्रदेशमा बढीमा ११ वटा मन्त्रालय बनाइने बताएका छन् । पछिल्लो मन्त्रिपरिषदमा बागमती प्रदेशमा १४ मन्त्रालय थिए । ४ राज्यमन्त्रीसहित १८ मन्त्री भएपछि प्रदेश सरकारको आलोचना हुँदै आएको थियो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार दिउँसो माओवादी केन्द्रका संसदीय दलका नेता जम्कट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच दलका ७० जना प्रदेश सभा सदस्यको समर्थनमा जम्कट्टेल मुख्यमन्त्री बनेका हुन् । माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेललाई एमाले, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ । बागमतीमा प्रदेशमा एमालेको २७ जना, माओवादी केन्द्रको २१ जना, राप्रपाको १३ जना, एकीकृत समाजवादीको सात जना र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य रहेका छन् ।































प्रतिक्रिया