राजधानीमा जारी नेपाल टी–२० लिगको फाइनल खेलमा लुम्बिनी अल स्टारले विराटनगर सुपर किङ्ससामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा गरेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर १३३ रन जोड्यो । लुम्बिनीका ओपनर लहिरू मिलन्थाले सर्वाधिक ४१ रन बनाए । अर्का ओपनर हर्मित सिंहले ३० रन बनाए । यी दुईले पहिलो विकेटका लागि ५।५ ओभरमा ६४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएपनि त्यसपछिका ब्याटरले उल्लेख प्रदर्शन गर्न नसक्दा लुम्बिनी ठूलो योगफलसम्म पुग्न सकेन ।
लुम्बिनीका कप्तान दीपेन्द्रसिंह ऐरीले २० र इसान पाण्डेले १८ रन बनाए । यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । विराटनगरका राज नानन र नन्दन यादवले दुई–दुई विकेट लिए । यस्तै, हुसैन तलात, किओन जोसेफ, सुर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।
लुम्बिनीले प्लेअफको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यता प्लेअफको इलिमिनेटरमा काठमाडौं किङ्सलाई पराजित गरेको विराटनगरले पनि दोस्रो क्वालिफायरमा जनकपुरलाई नै पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
लिगको विजेताले ५५ लाख रुपैयाँ र उपविजेताले ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले १० लाख र चौथो हुने टिमले पाँच लाख पाउनेछन् ।
लिगमा जनकपुर तेस्रो र काठमाडौं चौथो बनेको छ ।
लिगको सर्वोत्कृष्ट खेलाडीले पाँच लाख, उत्कृष्ट बलर र ब्याटरले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । यस्तै, लिगको उदियमान खेलाडीले १ लाख ८० हजार पाउनेछन् ।





























प्रतिक्रिया