माघमा यी कम्पनीको आईपीओ निष्कासन हुँदै, क-कसले दिन पाउँछन् आवेदन ?

माघमा यी कम्पनीको आईपीओ निष्कासन हुँदै, क-कसले दिन पाउँछन् आवेदन ?

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय साधारण सेयर (आईपीओ) मा सबैंको रुची बढ्दै गएको छ । सेयर बजारमा चासो बढेसँगै आईपीओ निष्कासन गर्ने कम्पनीहरु पनि बढ्दै गएका छन् भने आईपीओ भर्ने सर्वसाधारण पनि बढ्दै गएका छन् । यही माघ महिनामा मात्र केही कम्पनीहरुले आइपीओ निष्कासन गर्न लागेका छन् । कुन-कुन हुन् ती कम्पनी ? 

१, सगरमाथा जलविद्युत कम्पनी 
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले माघ ५ गतेदेखि साधारण सेयर (आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ११ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँका दरले ११ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुले उक्त सेयरमा आवेदन दिन सक्नेछन् । 

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो । सो शेयरका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । स्थानीय बासिन्दाहरुले सो आईपीओमा अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

२, सानिमा मिडिल तमोर हाइड्रोपावर 
सानीमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले पनि माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँका दरले  ३३ लाख ३२ हजार ५०० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो । 

कम्पनीले सर्वसाधारणमा निष्कासन हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो । उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

३, कालिन्चोक दर्शन
कालिन्चोक दर्शन प्रा.लिले माघ ३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कास गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले १० करोड ८० लाख रुपैयाँको १० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमा १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ५४ हजार कित्ता सामूहिक लगानी कोष र २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० देखि अधिकतम ४ हजार ९९० कित्तासम्म आवेदन दिन सकिने छ । 

४, सुपर मादी हाइड्रोपावर
सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पुँजी २ अर्ब १० करोडको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । त्यसमध्ये सर्वसाधारण लगानीकर्ताले १७ लाख ३३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Skip This
Skip This
Logo