प्रदेश १ र गण्डकी प्रदेशका मुख्यममन्त्रीले आज विश्वासको मत लिँदैछन्।
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार दिउँसो १ बजे विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिए। ६० जना सांसदको समर्थनसहित आइतबार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना सांसदको समर्थन छ।
प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका नेता बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन्। शनिबार उपसभामुखको निर्वाचन गर्ने तयारी छ। उपसभामुख नेकपा एमालेले पाउने भएको छ। उपसभामुख नेकपा एमालेले महिलालाई बनाउनेछ। एमालेबाट उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई, मोरङकी मालती सुब्बा उपसभामुखको आकाक्षी हुन्। ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका १ जना सांसद छन्।
यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पनि आजै विश्वासको मत लिँदैछन्। शुक्रबार तीन बजे प्रदेश सभाको बैैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने गण्डकी सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन्। उनले सरकारले छिटै नै विश्वासको मत लिएपछि अन्य प्रक्रिया अगाडि बढाउन सहज हुने बताइन्। सांसदसहित ३३ सांसदको समर्थनमा अधिकारी पुस २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए।
६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ। अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसदको समर्थन छ। अधिकारीलाई विश्वासको मत पाउन पनि सहज छ। अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन्।





























प्रतिक्रिया