सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदै छन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार महिला तथा पुरुष दुवैतर्फको फाइनल खेल हुनेछन् । महिलातर्फको फाइनलमा न्यु डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फको फाइनल खेल अपरान्ह १२ बजे सुरु हुनेछ । महिलातर्फको तेस्रो स्थानका लागि बिहान १० बजे एपीएफ क्लब र आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ । पुरुषतर्फ तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट हुने लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।





























प्रतिक्रिया