यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।  बुधबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले सञ्चारमन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने औपचारिक निर्णय गरेको हो । 

मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय बैठकले गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । त्यसैगरी बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ता भित्र कार्ययोजना निर्माण गरी मन्त्रीपरिषद बैठकमा पेश गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रीपरिषदमा पेश भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयमा लैजाने गरी सो निर्देशन दिइएको पनि उपप्रधानमन्त्री पौडेलले बताए । 

मन्त्रीपरिषद बैठकले नेपाल सरकारले प्रदान गर्ने विभुषणको स्पष्ट मापदण्ड तय गर्नका लागि समिति बनाउने निष्कर्ष पनि निकालेको छ ।

बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकले प्रतिक्वीटल उखुको मूल्य ५४० रुपैयाँ तोकेको छ । र, सरकारले व्यहोर्ने ढुवानी भाडा ७० रुपैयाँ निर्धारण गरिएको पनि उपप्रधानमन्त्री पौडेलले बताए । 

उनले अगाडि थपे- ‘कूटनीतिक नियोगलगायतका विदेशी प्रतिनिधिहरुलाई मन्त्रीहरुले भेटदा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थिति अनिवार्य गर्ने पनि आजको बैठकले निर्णय गरेको छ । सरकार गठनको एउटा महत्वपूर्ण नीतिगत आधार सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम हो । त्यो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम मन्त्रीपरिषदले कार्यान्वयन गर्ने भनेर यस अघि नै निर्णय गरिसकेको छ । उक्त नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि रहेक मन्त्रालयहरुसँग सम्बन्धित विषयहरुमा आवश्यक कार्ययोजना निर्माण गर्न ७ दिनको समय प्रधान गरिएको छ । सबै सम्बन्धित मन्त्रालयहरुले सो समय भित्र कार्ययोजना निर्माण गरी मन्त्रीपरिषदमा प्रस्तुत गर्नेछन । र, त्यो मन्त्रीपरिषदको निर्णयको आधारमा सरकारको नीतिगत प्राथमिकता र न्यूनमत कार्यक्रम कार्यान्वयनमा अघि बढ्नेछ ।’ 

मन्त्रिपरिषद बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सो मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ ।

Logo