अब चाँगुनारायण नगरपालिकामा हाम्रो पात्रो हेल्थको प्लेटफर्मबाट टेलिहेल्थ सेवा लिन सकिने भएको छ । आफ्नो प्लेटफर्मलाई कम्पनीले नगरपालिकाहरूको लागि खुला गरेको हाे ।
हाम्रो पात्रो हेल्थ मार्फत् नगरपालिका भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका, महिलाहरूलाई नगरपालिका भित्रका डाक्टरसँग घरबाट नै निःशुल्क परामर्श सेवा लिन सक्ने व्यवस्था गरेको नगरपालिकाले जनाएकाे छ ।
एक समारोहबीच नगरपालिका प्रमुख जीवन खत्रीले नगरका डाक्टर शैलेश त्वानावासुसँग स्वास्थ्य परामर्श लिएर सेवाको शुभारम्भ गरेका छन् । शुभारम्भ पश्चात् बोल्दै उनले भने- “नगरपालिकाको उद्देश्य अनुसार नगरवासीहरूलाई स्वास्थ्यसेवा सहजरूपमा उपलब्ध गराउने कार्यमा यस सेवाले थप बल पुर्याउँछ भन्ने विश्वास लिएको छु। भौगोलिक तथा यातायातको समस्या रहकेको हाम्रो जस्तो नगरमा वृद्धवृद्धा बालबालिका र शारीरिकरूपमा नगर अस्पतालसम्म पुग्न गाह्रो हुने नगरवासीलाई हाम्रो पात्रोसँगको सहकार्यमा प्रदान गरिएको यस सेवाले सहज हुने छ। ”
साे क्रममा हाम्रो पात्रोको संस्थापक/सीईओ शंकर उप्रेतीले भने- “नेपालका धेरै नगरपालिकाहरू हाम्रो पात्रो हेल्थ मार्फत् आफ्नो सेवा आफ्ना नगरवासीलाई उपलब्ध गराउन उत्सुक देखिनु भएको छ। आगामी दिनमा धेरै नगरपालिकाहरूले नगर भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका , महिलाहरूलाई नगरपालिका भित्रका डाक्टरसँग निःशुल्क परामर्श सेवा उपलब्ध गराउनु हुनेछ। नेपालमा थप मानिसहरूलाई स्वास्थ्य सेवामा जोड्न पाउँदा हामी खुसी छौँ।”





























प्रतिक्रिया