प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् ।
शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् । उनले भने, ‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु।’
प्रधानमन्त्रीले भने, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्यो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ।’
‘केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता छ’ प्रधानमन्त्रीले भने, ‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीस्थित रहेको ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ। मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु। यसलाई सम्वोधन गरिनेछ।’
प्रधानमन्त्री प्रचण्डले नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनरासी खर्च गरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेको त्यो अवस्थालाई धेरै हदसम्म रोक्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भूमिका खेलेको उल्लेख गर्दै केन्द्रलाई पनि धन्यवाद दिए ।





























प्रतिक्रिया