सुनसरी घटनापछि कोशी प्रदेश प्रहरी नेतृत्वमा फेरबदल, विनोदको ठाउँमा शेखरलाई जिम्मेवारी

सुनसरी घटनापछि कोशी प्रदेश प्रहरी नेतृत्वमा फेरबदल, विनोदको ठाउँमा शेखरलाई जिम्मेवारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि कोशी प्रदेश प्रहरी नेतृत्वमा परिवर्तन गरिएको छ।

गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा सरुवा गरेको हो।

यसअघि कोशी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय फिर्ता बोलाइएको छ। देवानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटना भएपछि प्रदेश प्रहरी नेतृत्वमा फेरबदल गरिएको हो।

सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप हिंसात्मक बन्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो।

घटनामा नौ जना सर्वसाधारण, नेपाल प्रहरीका १० जना र सशस्त्र प्रहरी बलका पाँचजना गरी कुल २४ जना घाइते भएका छन्।

घटनाको वास्तविकता पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ।

समितिलाई एक साताभित्र घटनाको अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

Logo