नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ ।
नक्साङ्कन, निरीक्षण,माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन् ।
आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार सुरुआती चरणमा आन्तरिक तयारीका कारण काम सुरु गर्न ढिला हुन गएको हो । भूमिगत विद्युतीकरणका लागि आवश्यक सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले काममा केही समय लागेको उनले जानकारी दिए । उनले भने, “फिल्डमा काम माघ १६ गतेबाट हुन्छ । अहिले आवश्यक मजदुर र उपकरण तयारी गर्ने काम भइरहेको छ ।” कामको सुरुआत केन्द्रीय बस ट्रमिनल र पुलचोकबाट गरिने उनले बताए ।
पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत रहेर भरतपुर महानगरपालिकाको पुलचोक–केन्द्रीय बस ट्रमिनल–गोन्द्राङ, केन्द्रीय बस ट्रमिनलदेखि आँपटारीसम्मको विद्युत् लाइन भूमिगत गर्ने काम हुनेछ । रु एक अर्ब २० करोडमा ठेक्का सम्झौता भएको छ ।
भरतपुर बाइपास सडकको पूरै र छ लेनको पुलचोकदेखि केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिने छ । बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिने छ । सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख भएकाले सडक बिग्रन नपाउने उनले जानकारी दिए । सन् २०२२ जनवरीबाट लागू हुने गरी निर्माणको सम्झौता भएको छ । सन् २०२४ को जनवरीसम्ममा काम सम्पन्न गर्नुपर्ने हुन्छ ।
भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागिएको हो । यो कामको प्राधिकरणका तर्फबाट परामर्शका रुपमा पावर ग्रिड कम्पनीले हेरिरहेको छ । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । उक्त आयोजनाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ १८ गते शिलान्यास गरेका थिए ।





























प्रतिक्रिया