‘सरकारले साथ दिए सिनेमा रिलिज गर्न तयार छौं’ : आकाश अधिकारी

‘सरकारले साथ दिए सिनेमा रिलिज गर्न तयार छौं’ : आकाश अधिकारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चलचित्र क्षेत्रलाई सुचारु गर्न सरकारले साथ दिए सिनेमा रिलिज गर्न तयार रहेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताएका छन् ।

कोभिड १९ का कारण चलचित्र क्षेत्र सबैभन्दा धेरै प्रभावित भएकाले संघले सरकारसँग विभिन्न माग राखेको र ती माग पूरा भए चलचित्र रिलिज गर्न आफूहरु तयार रहेको अधिकारीले बताए । मंगलबार कुरा गर्दै अध्यक्ष अधिकारीले सिनेमा हल खोल्ने वातावरण भए सिनेमा रिलिज गर्न तयार रहेको बताएका हुन् । सिनेमा निर्माताले कुनै पनि सिनेमा निर्माण गर्न बनाएको बजेटको २० प्रतिशत ग्राण्ड रकम सरकारले उपलब्ध गराउनु पर्ने, डिजिटल माध्यमबाट सिनेमा रिलिज गर्न सक्ने गरी भुक्तानी प्रणालीको विकास गर्नुपर्ने लगायतका माग संघले राखेको थियो । ग्राण्ड रकम उपलब्ध भए चलचित्र प्रवद्र्धनका लागि सहज हुने र निर्माताले सहजै चलिचित्र रिलिज गर्न सक्ने वातावरण बन्ने उनको भनाइ छ । सुरुमा नेगेटिभबाट रिलिज भएका पुराना सिनेमाहरुलाई डिजिटल माध्यमबाट रिलिज गरी सिनेमा घर खुलेको सन्देश दिन सकिने र त्यसपछि मात्रै दशैं सम्ममा नयाँ सिनेमा रिलिज गर्ने वातावरण बन्ने अध्यक्ष अधिकारीले बताए ।

लकडाउनका कारण चलचित्र उद्योग बन्द हुँदा प्रत्यक्ष रुपमा ३० देखि ३२ हजार र अप्रत्यक्ष रुपमा एक लाख पचास हजार सम्मले रोजगारी गुमाएको अधिकारीले बताए । उनले चलचित्र क्षेत्रमा लगानी भएको १ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी लगानी जोखिममा परेको बताए । कोभिडका कारण ठूलो क्षति भएको क्षेत्रलाई बजेटले समेटन नसकेको तर मौद्रिक नीतिबाट अधिकांश समस्याहरु समाधान भएको उनले बताए । सरकारले पुनर्कर्जा सुविधा दिए पनि त्यसको उपयोग सिमित व्यक्तिहरुले मात्रै गर्न सक्ने भएकाले आफूहरुले पुनर्उत्थानको माग गरेको स्पष्ट पारे । पुनर्उत्थान कोष निर्माण गरेमा सतहमा पुगेको चलचित्र क्षेत्रलाई माथि उठाउन सकिने तर त्यसलाई मौद्रिक नीतिले समेत सम्बोधन गर्न नसकेको अधिकारीले बताए ।

लकडाउन भए यता चलचित्र क्षेत्र पूर्णरुपमा बन्द छ । अधिकारीका अनुसार चैतदेखि जेठसम्म प्रदर्शनका लागि मिति लिएर बसेका २३ देखि २५ वटा सिनेमा, पोस्टप्रोडक्सनमा रहेका २० वटा सिनेमा र केही दिनको छायांकन भएर रोकिएका १५ वटा सिनेमा रहेको तथ्याङ्क संघमा प्राप्त भएको बताए । यी सहित लकडाउन खुल्नासाथ छायांकनमा जान तयार रहेका सिनेमा गरी कुल ७५ वटा सिनेमाको काम रोकिएको अधिकारीले बताए ।

Skip This
Skip This
Logo