काभ्रे ।
पाँचखाल नगरका सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यका साथ आयोजना कार्यान्वयनको चरणमा रहेको छ । सुनकोशी–पाँचखाल बृहत् खानेपानी आयोजना कार्यान्वयनका लागि निर्माण कम्पनीसँग अढाई वर्षमा निर्माण सक्ने सम्झौता भइसकेको छ ।
आयोजना सम्पन्न गर्न गत असार १६ गते खानेपानी तथा ढल व्यवस्था विभाग, नगर विकास कोष, पाँचखाल नगरपालिका तथा उपभोक्ता समितिबीच आयोजना व्यवस्थापन सम्झौता भएको थियो । आयोजनाको काम नेपाली कम्पनी कन्काई बिल्डर्स् र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर) ले सम्पन्न गर्नेछ । परियोजनाको २०७६ साल भदौ १२ गते तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो ।
आयोजना कार्यान्वयनको प्रारम्भिक चरणको काम भइरहेको आयोजना निर्देशक विद्यानाथ भट्टराईले बताए । उनले खानेपानी आयोजनाको सरोकारवाला पक्षका इन्जिनीयरले संयुक्त रुपमा सम्पूर्ण सर्वेको कामको प्रक्रिया थालिएको, विभिन्न स्थानको निर्माण सामग्रीको प्रयोगशाला परीक्षण भइरहेको र अढाई वर्षको ‘वर्क प्लान’ बनिरहेको जानकारी दिए । उनले भने, “निर्माण कम्पनीसँग आयोजनाका लागि कामदार जुटाउने प्रक्रियाबारे छलफल भइरहेको छ ।”
निर्देशक भट्टराईले कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण मजदूरको स्वास्थ्य–सुरक्षासहित आवास तथा दैनिक स्वास्थ्य जाँचको प्रबन्ध गर्न तथा भौतिक दूरी कायम गरी निर्माण थाल्न आयोजना र निर्माण कम्पनीसँग छलफल भइरहेको बताए । “कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमबीच मजदूरको स्थानान्तरणका लागि विशेष पहल भइरहेको छ”, उनले भने । सो खानेपानी आयोजना दुई अर्ब २१ करोडको लागतमा अढाई वर्षमा निर्माणसम्पन्न गरिने लक्ष्य लिइएको हो ।
हाल कार्यान्वयनको चरणमा रहेका आयोजना अन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा ठूलो हो । आयोजना सम्झौताको सर्त अनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका छन् । पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा १८ हजार जम्मा गरेका हुन् ।
खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० स्थित इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पुर्याउन पाँचखाल नगर कार्यालयद्वारा सर्वेको काम भइरहेको तथा निर्माण कम्पनी बस्न पाँचखालमा घरको खोजी भइरहेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । परियोजनाबाट पाँचखाल नगरको १, ५ र १३ वडा बाहेकका करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।रासस





























प्रतिक्रिया