नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्माले राष्ट्रपतिको सम्बन्धमा सत्तारुढ गठबन्धनमा समस्या नहुने बताएका छन् ।
मंगलवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपमहासचिव शर्माले राष्ट्रपतिको सम्बन्धमा गठबन्धनका दलहरुका बिचमा समस्या नहुने बताएका हुन् । उनले गठबन्धनमा मतभिन्नता भएपनि छलफल गरेर समाधान गर्न सकिने बताए । समस्याको समाधान हुने उनले स्पष्ट पारे ।
‘राष्ट्रपतिको पदावधि सकिनुभन्दा पहिल्यै राष्ट्रपतिको निर्वाचन हुनुपर्छ । दिन कतिबेला तोक्ने भन्नेकुरा मात्रै हो । अब अहिले जो बनेको गठबन्धन छ, गठबन्धनमा होलान्, केही मतभिन्नताहरु हुन सक्छन् । समस्याहरु हुन सक्छन् । ति समस्या छलफल गरेर समाधान गर्न सकिने स्तरमा छन् । समाधान हुन्छन् ।’ उनले भने, ‘बोल्ने कुरामा शब्दमा टिपेर कटाक्ष भएको भन्न मिल्दैन किनभने गठबन्धन छ । नीति, कार्यक्रम उहाँहरुले मिलेर बनाउनुभएको छ । त्यही कुरा लागू भएको छ । योजनामा हेर्ने हो नि त । बोल्दाखेरी शब्द कता कता पर्छ त्यो कुरा मुख्य कुरा होइन । मुख्य कुरा उद्देश्यमा केन्द्रित छ कि छैन भन्दा अहिलेको गठबन्धन उद्देश्यमा केन्द्रित छ ।’





























प्रतिक्रिया