बाजुरामा अहिलेसम्मकै ठूलो भूकम्प, अझै पनि ठूला भूकम्पको जोखिम

बाजुरामा अहिलेसम्मकै ठूलो भूकम्प, अझै पनि ठूला भूकम्पको जोखिम

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशको बाजुरामा मङ्गलबार अहिलेसम्मकै ठूलो भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको मेला भनिने स्थानमा केन्द्रबिन्दु भएर मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प गएको हो। बाजुरामा योसहित यस वर्ष तीनवटा भूकम्प गएका छन्। यसअघि कात्तिक २४ गते र साउन २ गते दुवै पटक ४ दशमलव १ म्याग्नेच्युटको भूकम्प गएका थिए।

काठमाडौँमा जस्तै गोरखादेखि पश्चिम भारतको देहरादुनसम्मको जमिनमुनि ठूलो भूकम्प जान सक्ने ऊर्जा सञ्चित भएकाले पनि भूकम्प गएको भूकम्पविद् भरतप्रसाद कोइरालाले बताए। ठूलो शक्ति सञ्चित भएकाले अझै पनि ठूला भूकम्पको जोखिम त्यस क्षेत्रमा रहेको जानकारी उनले दिए।

यसैगरी, मझौला र साना भूकम्प आइरहेको खण्डमा लामो समयसम्म भूकम्प आउने–जाने क्रम चलिरहन्छ। एकैचोटि ठूलो भूकम्प आएर ऊर्जा अन्यत्र सञ्चार भएर वा पृथ्वीबाट बाहिर निस्कन सक्ने दुवै खालको सम्भावना अझै नटरेको उनले बताए। कात्तिक २३ गते डोटी केन्द्रबिन्दु भएर ६ दशमलव ६ म्याग्नेच्युटको मध्यमस्तरको भूकम्प गएको थियो। त्यसको भोलिपल्टै बाजुरामा अर्को भूकम्प गएको थियो। भूकम्पको जोखिम कायमै रहेकाले सचेत रहेर जीवनयापन गर्न केन्द्रले सुझाएको छ।

सामान्यतया ७ म्याग्नेच्युटभित्रको भूकम्पलाई मध्यमखालको भूकम्प मानिन्छ तर पहाडी भेग र घना मानवीय बस्ती भएको अति सहरी इलाकामा यसको असर बढी हुन्छ। बाजुराको पहाडी इलाकामा कच्ची माटोका घरहरू मध्यमखालको भूकम्पले पनि सहजै ढाल्ने भएकाले मानवीय क्षति हुन पुगेको कोइरालाले बताए । केन्द्रका अनुसार सिस्मो मिटर र जीपीएस ट्र्याकिङले नेपालको सुदूरपश्चिममा करिब दुई सेन्टिमिटरसम्म पृथ्वीको प्लेट सरिसकेको देखाएको छ।

सुदूरपश्चिमको भौगर्भिक अध्ययनमा संलग्न वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले सुदूरपश्चिमका पहाडमा पुराना भूकम्पको अवशेष भेटिएको बताए । सन् १५०५ को झिनो तथ्यअनुसार त्यो बेलामा सुदूरपश्चिम भेगमा ८ म्याग्नेच्युटभन्दा ठूलो भूकम्प गएको अनुमान छ। यो तथ्यलाई मान्ने हो भने ५१६ वर्षको अन्तरालमा अर्को ठूलो वा महाभूकम्प नआउनुले झनै जोखिमको विषय रहेको भूकम्पविद् अधिकारी बताउँछन् । 

Logo