मन्त्री कार्कीको प्रष्टोक्तिः एक चिकित्सकको नाताले आचार्यलाई नभेटी बस्‍न सकिँन, प्रोटोकल मिचेको छैन

मन्त्री कार्कीको प्रष्टोक्तिः एक चिकित्सकको नाताले आचार्यलाई नभेटी बस्‍न सकिँन, प्रोटोकल मिचेको छैन

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले सञ्चारमाध्यमहरुले आफ्नो बिरुद्धका समाचार मात्रै प्रकाशन गरेको भन्दै आपत्ति जनाएकी छन् । 

शुक्रवार स्वास्थ्य पत्रकार मञ्चले नवनियुक्त राज्यमन्त्री कार्कीलाई बधाई ज्ञापन गर्न मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले यस्तो आशय व्यक्त गरेकी हुन् । सञ्चारकर्मीहरुको दुई जना मन्त्रीहरुले एकै कार्यक्रममा एकैपटक रिबन काटेको पहिलो पटक देखेका थियौँ, यो गर्न जरुरी थियो र ? भन्ने प्रश्नमा उनले अस्पतालको कार्यक्रममा क्याथ ल्याबको उद्घाटनसँगै जनशक्तिका मुद्दाहरु, क्याथ ल्याबमा आवश्यक भएका कुराहरु, सेवा विकेन्द्रीकरणका कुराहरु, दरबन्दीका इस्युजहरुका धेरै कुराहरु उठेपनि नराम्रो कामको प्रकाशन गरेको भन्दै आक्रोश व्यक्त गरिन् । 

राज्यमन्त्री कार्कीले सिटी स्क्यान, एमआरआईका लागि आवश्यक सामग्री पनि अपुग अवस्थाका आफूले कुरा उठाएपनि त्यसको समाचार नबनेको तर रिबन काटेको समाचारलाई प्राथमिकता दिएको बताइन् । उनले सत्य र सही सूचना प्रवाह गरेको खण्डमा मात्रै देशमा सुशासन कायम हुने बताइन् । माघको पहिलो साता वीर अस्पतालले शुरु गरेको ल्याब सेवा उद्घटन कार्यक्रममा एउटै कार्यक्रमको उद्घाटन स्वास्थ्यमन्त्री र स्वास्थ्य राज्यमन्त्रीले सँगसँगै गरेका थिए । मन्त्री र राज्यमन्त्रीले एकै ठाउँमा राखिएका दुई वटा अलग अलग रिबन काटेसँगै सामाजिक सञ्जालमा त्यसको बिरोध भएको थियो । 

मन्त्री कार्कीले गत मंगलवार संसद भवनबाहिर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई आईसीयुमा भेट्न जाँदा आफूले कुनैपनि स्वास्थ्यको प्रोटोकल नमिचेको बताएकी छन् । मंगलवार साँझ राज्यमन्त्री कार्की कीर्तिपुर अस्पताल आचार्यको स्वास्थ्यस्थितिको बारेमा बुझ्न पुगेकी थिइन् । आचार्यलाई भेट्दाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै मन्त्री कार्कीले स्वास्थ्यका प्रोटोकलको पूर्ण पालना नगरेको भन्दै बिरोध भएको थियो । 

बिरोधपछि राज्यमन्त्री कार्कीले आफूले अस्पतालमा हुँदा कुनैपनि स्वास्थ्यका नियमहरु नतोडेको बताइन् । उनले आफूभित्र रहेको मानवता, एक चिकित्सकको हिसावबाट आफू आचार्यलाई नभेटी बस्न नसकेको बताइन् । 
 
राज्यमन्त्री कार्कीले कुनैपनि नागरिकले आर्थिक स्थिति कमजोर भएकै कारणले स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनु नपर्ने गरी काम गर्नेपनि प्रतिवद्धता व्यक्त गरिन् । उनले बीमालाई वैज्ञानिक ढंगबाट बिस्तार र लक्षित वर्गमा पु-याउने गरी काम गरिरहेको बताइन् । स्वास्थ्य सेवालाई चुस्त बनाउन एकीकृत एम्बुलेन्स कार्ययोजना अघि बढाइरहेको पनि उनले बताइन् ।  

Logo