नेटफ्लिक्सले आगामी मार्च अन्तिमदेखि पासवर्ड सेयरिङको सुविधा बन्द गर्ने भएको छ ।
नेटफ्लिक्सले अघिल्लो साता आफ्ना सेयरहोल्डरलाई बुझाएको एक समीक्षा पत्रमा आफ्ना प्रयोगकर्ताले पाउँदै आएको निःशुल्क पासवर्ड सेयरिङ सुविधा मार्च अन्त्यदेखि बन्द हुने जनाएको छ । यसअघि अक्टोबरमा नेटफ्लिक्सले कम्पनीको प्रयोगकर्तामा आएको कमी र घट्दो आम्दानीलाई दृष्टिगत गर्दै पासवर्ड सेयर गर्न शुल्क लिने बताए पनि कहिलेदेखि सुरु हुने भन्नेबारे खुलाएको थिएन ।
अहिले पनि स्पष्ट मिति नतोकिए पनि अप्रिलबाट पासवर्ड सेयरिङ सशुल्क हुने पक्कापक्की जस्तै देखिएको छ । कम्पनीले एक प्रयोगकर्ताका लागि एउटा मात्रै ‘होम’ अकाउन्ट उपलब्ध हुने र बाँकी अतिरिक्त होमका लागि शुल्क लाग्ने घोषणा गरिसकेको छ ।
नेटफ्लिक्सले अर्जेन्टिना, डोमिनिकन रिपब्लिक, होन्डुरस, एल साल्भाडोर, ग्वाटेमालामा अहिले यो मोडल लागू गरिसकेको छ । यसअन्तर्गत हरेक अतिरिक्त ‘होम’ अकाउन्टहरूका लागि २.९९ डलर थप शुल्क लाग्ने बनाइएको छ । अमेरिकालगायत अन्य देशमा पनि यही शुल्क लागू हुने कि यसमा पनि संशोधन हुन्छ भन्ने खुलाइएको छैन ।
पासवर्ड सेयरिङ सुविधामार्फत नेपालमा नेटफ्लिल्क्स प्रयोगकर्ताले प्लेटफर्मका फिल्म र सिरिज हेरिरहेका छन् । संसारकै ठूलो ओटीटी प्लेटफर्मको यो निर्णयपछि पासवर्ड सेयर गरेर बढी चलाइने नेपालजस्ता मुलुकका प्रयोगकर्ता प्रभावित हुनेछन् ।































प्रतिक्रिया