उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व परिचालनमा धेरै पछाडि परिएको बताएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा नवनिर्मित बलराम-तारा प्रधान इनर्जी ल्याव भवनको आज उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले गत आवको यही समयको राजस्व परिचालन दरको तुलनामा निकै पछाडि परिएको बताएका हुन् । “चालु आवमा राजस्व परिचालनमा हामी निकै पछाडि परेका छौँ, पुँजीगत खर्च जम्मा १४ देखि १५ प्रतिशतसम्म छ, यो गत आवको यहीँ समयको भन्दा निकै कम हो”, उनले भने ।
यही अवस्थाबाट सुधार गर्ने अपेक्षा गर्दै उनले आउने वर्षको बजेट कसरी निर्माण गर्ने भन्ने चिन्ता रहेको बताए । उनले समग्र अर्थ क्षेत्रमा चुनौती रहेको उल्लेख गरे ।
अर्थमन्त्री पौडेलले भने, “ब्याजदर, महँगी ग्राहिस्थति, विदेशी मुद्रास्फीति, ट्रेड ब्योलेन्सको प्रश्न हाम्रा सामुन्ने छ, आर्थिक दृष्टिकोणले केही चुनौती केही दबाबको सामना गर्दै आइरहनु परेको छ, यसलाई सकारात्मक बनाउन लागेका छौँ ।”
सरकार सामू आर्थिक क्षेत्र सकारात्मक बाउने चुनौती रहेकाले यसलाई सामना गर्दै गतिशील र विकसित आर्थिक अवस्था बनाउने अभियानमा सरोकारवालाले सहयोग गर्नुपर्ने उनको धारणा थियो ।
मन्त्री पौडेलले शिक्षा क्षेत्रको गुणस्तरीयतामा पनि चुनौती रहेकाले युवा जनशक्ति पलायन भएकोमा गुनासो गरे। “गुणस्तरीय शिक्षाको खोजी नेपाली युवा संसारका विभिन्न मुलुक जान बाध्य छन्, जसबाट ठूलो रकम विदेशिएको छ”, उनले भने, “यसले पैसा र युवा जनशक्ति दुवै पलायन भइरहेको छ ।”
उनले समग्र मुलुक परिवर्तन गर्ने शिक्षा व्यवस्थापन गर्ने सरकारको दायत्वभित्र पर्ने भएकाले यो चुनौतीलाई चिर्दै गुणस्तरीय सीपमूलक शिक्षा दिनु आवश्यक रहेको बताए ।
नेपालका पहिलो सङ्गठित ल्यावका रुपमा विश्वविद्यालयमा स्थापित उक्त दुई तले ग्रीन हाइड्रोजन ल्याव भवन कूल रू दुई करोड ६८ लाख लागतमा निर्माण भएको हो । कूल लागतमध्ये रू ४५ लाख स्व प्रधानको परिवारले सहयोग गरेको हो ।





























प्रतिक्रिया