नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले अवैध मदिराको कारोबारीहरुलाई कानुनी दायरामा ल्याउन अपिल गरेको छ।
मंगलबार एक विज्ञप्तिमार्फत संघले देशका विभिन्न भागबाट पेय पदार्थ तथा अवैध मदिरा, चोरी पैठारीलगायतमा संलग्नहरूलाई थुनामा राखेर अनुसन्धान गरिएको प्रति ध्यानाकर्षण भएको जनाउँदै सो अपिल गरेको हो ।
‘अवैध गुणस्तरहीन र मापदण्डविपरीतका उत्पादनहरुले राष्ट, समाज, व्यवसाय र व्यक्तिमा पार्ने गम्भीर नकारात्मक प्रभावका बारेमा सचेत रही यस किसिमका कार्यहरु कहीँकतै भएको जानकारी आएमा सचेत नागरिकको हैसियतले सम्बन्धित नेपाल सरकारका निकायहरुमा सूचना दिई त्यस्ता अबैध कारोबारीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन सहयोग गरिदिनु हुन अपिल गर्दछौँ’ संघका अध्यक्ष रमेश श्रेष्ठले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
अवैध मदिराको उत्पादन एवं बिक्री वितरणबाट सरकारको राजश्वमा असर पर्नुका साथै यस किसिमका अवैध मदिराको आयात, उत्पादन, बिक्री वितरण एवं उपभोगले देशको राजश्व, कानुनबमोजिम स्थापित उद्योगहरूको व्यवसायिक ख्याति, सृजित रोजगारी एवं जनस्वास्थ्यमा समेत गम्भीर असर परेको संघले ठहर गरेको छ। यसप्रति सचेत रहन सम्बन्धित सबैलाई पनि संघले अनुरोध गरेको छ।
मदिराजस्तो संवेदनशील वस्तुको उत्पादन गर्दा उत्पादकले सम्बन्धित निकायबाट लाइसेन्स लिई सरकारले तोकेको मापदण्डअनुसार ल्याब परीक्षण गरी स्वीकृति प्राप्त गरेर मात्र गर्नुपर्ने एवं बिक्री गर्दा समेत अनुमति पत्र लिएकाले मात्र बिक्री गर्न पाउने कानूनी प्रावधान छ।





























प्रतिक्रिया