न्युकासल युनाईटेड ४७ वर्षपछि काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा साउथह्याम्पटनलाई २–१ ले हराउँदै समग्रमा ३–१ ले पराजित गर्दै न्यूक्यासल सन् १९७६ पछि फाइनलमा पुग्न सफल भएको हो । कुनै पनि प्रतियोगितामा भने न्यूक्यासल २४ वर्षपछि फाइनलमा पुगेको हो । न्युकासलले पहिलो लेगमा १–० को अग्रता लिएको थियो । दोस्रो लेगमा १० खेलाडीमा समेटिएपनि न्युकासलले जित निकाल्यो ।
खेलको पाँचौं मिनेटमा सिन लङस्टाफले गोल गर्दै न्युकासललाई अग्रता दिलाए । खेलको २१ औं मिनेटमा लङस्टाफले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासलको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको २९ औं मिनेटमा साउथह्याम्पटनका चे एडम्सले गोल गरेपनि न्युकासल २–१ ले विजयी भयो । यस्तै खेलको ८२ औं मिनेटमा ब्रुनो गुइमारेसले रातो कार्ड पाएपछि न्युकासल १० खेलाडीमा समेटिएको थियो ।
न्युकासलले उपाधिका लागि म्यानचेस्टर युनाईटेड र नटिङघम फरेस्टबीचको विजेतासँग खेल्नेछ । यी दुईबिचको खेल बुधबार हुनेछ । पहिलो लेगमा युनाईटेड ३–० ले अघि रहेको छ ।





























प्रतिक्रिया