कति हुन्छ बैंकका सीईओको वार्षिक तलब ? [भिडियाेसहित]

कति हुन्छ बैंकका सीईओको वार्षिक तलब ? [भिडियाेसहित]

केन्द्रबिन्दु
15
Shares

बैंकमा काम गर्ने कर्मचारीको जागिर निकै आकर्षक मानिन्छ । बैंकले कर्मचारीलाई आकर्षक तलबका साथै राम्रो सेवा सुविधा प्रदान गरेको हुन्छ । त्यसैले पनि कर्मचारीलाई बैंकले कति तलब दिन्छ ? कस्तो सेवा सुविधा प्रदान गर्छ ? सबैलाई जिज्ञासा हुन्छ । 

त्यसमाथि पनि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) को तलब भत्ता कति हुन्छ त ? बैंकका जानकार व्यक्तिहरु बाहेक अरुलाई थाहा हुँदैन् । नेपालमा बैंकको सिइओ भएर काम गर्ने सबैको तलब लोभलाग्दो हुन्छ । उसको तलब कति हुन्छ भन्ने बैंकको वित्तिय अवस्था अनुसार निर्धारित हुन्छ । 

नेपालमा सञ्चालन भइरेहेका ‘क’ वर्गका अधिकांश वाणिज्य बैंकको सिइओको तलब ४ करोड भन्दा धेरै छ । सरकारी स्वामित्वमा सञ्चालन रहेका बैंकका सिइओको तलब अलि कम भएपनि निजी बैंकका सिइओले भने वार्षिक ४ करोड भन्दा धेरै कमाउने गर्दछन् । करोडौं कमाउने सिइओले आफ्नो तलबबाट करिब ३६ प्रतिशत राज्यलाई कर तिर्ने गरेका छन् । 

२३ वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा सिइओको लागि तलब भत्ता बापत ४९ करोड १२ लाख ५ हजार ६२० रुपैयाँ खर्च गरेको छ । हेरौं, कुन बैंकका सिईओको वार्षिक तलब भत्ता कति ?

कुमारी बैंक
गत आर्थिक वर्षमा धेरै तलब भत्ता दिने बैंकमा कुमारी बैँक अग्रस्थानमा छ । बैंकले गत आवमा सीईओलाई ४ करोड १४ लाख ७१ हजार रुपैयाँ दिएको छ । बैंकले तत्कालिन कामु मुकायम प्रमुख अनुजमणि तिमिल्सिनालाई ३ करोड ६४ लाख ९८ हजार रुपैयाँ दिएको छ । यस्तै, सीईओ रामचन्द्र खनाललाई भने ४९ लाख ७३ हजार रुपैयाँ दिएको छ । बैंककाअनुसार २०७८ माघ २४ गतेसम्म अनुजमणि तिमिल्सिना कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका थिए भने २०७९ वैशाख १३ गतेबाट रामचन्द्र खनाल सीईओ बनेका हुन् ।

प्रभु बैंक
गत आवमा धेरै तलब भत्ता दिने बैंकको दोस्रो नम्बरमा प्रभु बैंक रहेको छ । प्रभु बैंकले सीईओ अशोक शेरचनलाई तलब भत्ता बापत ४ करोड ३ लाख २० हजार रुपैयाँ दिएको छ । 

स्टयान्डर्ड चार्टर्ड बैंक
यस्तै तीन करोड भन्दा धेरै तलब दिनेमा स्टयान्डर्ड चार्टर्ड बैंक पहिलो स्थानमा रहेको छ । बैंकले गत आवमा सीईओ अनिरभ घोष देशारको लागि ३ करोड २१ लाख ९४ हजार ५७५ रुपैयाँ तलब, भत्ता बापत खर्च गरेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक
तीन करोड रुपैयाँ भन्दा बढी तलबभत्ता लिने सीईओमा ज्योति पाण्डे पनि पर्छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले सिईओ पाण्डेलाई गत आर्थिक वर्ष ३ करोड ६ लाख ३४ हजार तलब, भत्ता बापत भुक्तानी गरेको छ । 

मेगा बैंक
दुई करोड भन्दा धेरै तलब दिने बैँकमा मेगा बैंक अगाडि छ । बैंकले गत आवमा सीईओलाई २ करोड ९४ लाख ९१ हजार ६२५ रुपैयाँ तलब, भत्ता भुक्तानी गरेको छ । बैंकको निवर्तमान सीईओ अनुपमा खुञ्जेलीको ४ वर्षे कार्यकाल सकेर गत बैशाख १ गते बैंक छोडेकी हुन् । बैशाख २ गतेबाट लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । बैंकले दिएको तलब भत्ता बापतको रकम खुञ्जेली र श्रेष्ठ दुवै जनाले लिएका हुन् । 

नबिल बैक
गत आर्थिक वर्षमा नबिल बैकले सीईओ अनिल शाहलाई २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ तलब भत्ता दिएको छ । 

सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा सीईओलाई २ करोड ८० लाख ५६ हजार २५६ रुपैयाँ तलबभत्ता बापत भुक्तानी गरेको छ । बैंकका निवर्तमान सीईओ शम्भु नाथ गौतमको कार्यकाल २०७८ साउन २५ गतेसम्म रहेका थिए भने साउन २६ देखि सकिएको थियो । २०७८ साउन २६ गतेदेखि लागु हुनेगरी प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेललाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । उक्त रकम दुवै जना सीईओले लिएका छन् ।

एनएमबि बैंक
एनएमबि बैंकले गत आर्थिक वर्षमा सीईओ सुनिल केसीलाई २ करोड ३४ लाख ८४ हजार ६८८ रुपैयाँ तलब भत्ता दिएको छ । 

एनआईसी एशिया बैंक
यस्तै एनआईसी एशिया बैंकले सीईओ रोशन कुमार न्यौपानेलाई २ करोड ३४ लाख ३ हजार ५४७ रुपैयाँ भुक्तानी गरेको छ । 

हिमालयन बैंक
हिमालयन बैंकले सीईओ अशोक राणालाई गत आवमा २ करोड १५ लाख १६ हजार ३३३ रुपैयाँ तलब भत्ता दिएको छ । 

सानिमा बैंक
त्यस्तै, सानिमा बैंकले सीईओले २ करोड १४ लाख ६ हजार तलब, भत्ता बापत भुक्तानी गरेको छ । बैंकका अनुसार गत वर्ष माघ ११ गतेसम्म भुवन कुमार दाहाल सीईओ रहेका थिए भने माघ १२ गते निश्चल राज पाण्डे सीईओ भएका छन् । बैंकले भुक्तानी गरेको तलब, भत्ता दुवै सीईओले लिएका हुन् ।

प्राइम बैंक
प्राइम बैंकले गत आर्थिक वर्षमा सीईओलाई २ करोड १० लाख १५ हजार भुक्तानी गरेको छ । सीईओ नारायणदास मानन्धरले उक्त रकम तलब बापत लिएका हुन् । 

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले सीईओ रत्नराज बज्राचार्यलाई तलब भत्ता बापत २ करोड ८ लाख ५८ हजार ४९१ रुपैयाँ दिएको छ । 

माछापुच्छ्रे बैंक
१ करोड भन्दा धेरै तलब भत्ता दिनेमा माछापुच्छे« बैंक अगाडि रहेको छ । बैंकले सीईओ सन्तोष कोइरालालाई १ करोड ७९ लाख ६८ हजार तलब भत्ता दिएको छ । 

सिटिजन्स बैंक
सिटिजन्स बैंकले पनि सीईओ गणेशराज पोखरेललाई १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ तलब भत्ता दिएको छ । 

नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले दिपक कुमार देलाई गत आवमा १ करोड ५४ लाख २३ हजार ९९६ रुपैयाँ भुक्तानी गरेको छ । 

सिभिल बैंक
सिभिल बैंकले सीईओ सुनिल पोखरेललाई १ करोड ४१ लाख २५ हजार ४०९ रुपैयाँ तलब भत्ता दिएको छ ।  

लक्ष्मी बैंक
यस्तै गत आर्थिक वर्षमा लक्ष्मी बैंकले सीईओ अजय बिक्रम शाहलाई १ करोड ३२ लाख ३२ हजार तलब भत्ता दिएको छ । 

एनसीसी बैंक
एनसीसी बैंकले सीईओ रमेशराज अर्याललाई १ करोड ३२ लाख तलब भत्ता दिएको छ । 

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले सीईओ श्रवणलाल मास्केलाई १ करोड २७ लाख ८५ हजार २७४ रुपैयाँ तलब भत्ता बापत दिएको छ ।

सेञ्चुरी कर्मसियल बैंक
सेञ्चुरी बैंकले सीईओ मनोज न्यौपानेलाई १ करोड १५ लाख ८७ हजार ८९२ रुपैयाँ भुक्तानी गरेको छ । 

यस्तै, सबै भन्दा कम तलब भत्ता दिनेमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकले सिईओ किरण कुमार श्रेष्ठलाई ६६ लाख ४ हजार १९१ रुपैयाँ दिएको छ भने नेपाल बैंकका सिईओ कृष्ण बहादुर अधिकारीले गत आवमा ६४ लाख ५२ हजार ३०७ रुपैयाँ तलव भत्ता बुझेका छन् । 

Skip This
Skip This
Logo