सेयर खरिद-बिक्री गर्नेको संख्या बढ्याे, तर आम्दानी घट्यो

सेयर खरिद-बिक्री गर्नेको संख्या बढ्याे, तर आम्दानी घट्यो

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय सेयर कारोबार गर्नेको संख्या बढेको छ । सेयर कारोबार बढेपनि उक्त कारोबारबाट सरकारलाई प्राप्त हुने रकम (धितोपत्र पुँजी) घटेको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सेयर काराबोरबाट प्राप्त हुने पुँजीगत लाभकर ८४ दशमलव ६८ प्रतिशतले घटेको हो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत लाभकर बापत सरकारलाई १ अर्ब २३ करोड ५७ लाख रुपैयाँ प्राप्त भएको छ । गत वर्षको सोही अवधिमा यस्तो लाभकर ८ अर्ब ६ करोड ८७ लाख रुपैयाँ प्राप्त भएको थियो ।

नेप्से परिसूचक बढ्दै जाँदा कारोबार रकम बढ्दै जान्छ । त्यसको प्रभाव सरकारले प्राप्त गर्ने आम्दानीमा पर्छ । तर, अहिले बजार घटदो क्रममा छ । साताको अन्तिम कारोबारसम्म बजार २ हजार ९४ को बिन्दुमा बन्द भयो ।

केही समय अगाडी (गत साउन/भदौ) नेप्से परिसूचकले ३ हजार २०० विन्दु पार गरेर नयाँ रेकर्ड कायम गरेको थियो । त्यस समयमा दैनिक २१ अर्बभन्दा बढीको सेयर खरिद–बिक्री भएको थियो । यसले पनि गत वर्षको साउनदेखि पुस मसान्तसम्म चालु आर्थिक वर्षको भन्दा ६ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी पुँजीगत लाभकर उठेको हो ।  

पुँजीगत लाभ कर बढी प्राप्त हुनका लागि सेयर कारोबार बढ्न आवश्यक छ । बजारमा सेयर कम खरिद–बिक्री भयो भने त्यसको असर सरकारको राजस्वमा पर्ने गर्छ ।  

दीर्घकालीन पुँजीगत लाभकरबापत सरकारले गत वर्षको ६ महिनामा २ अर्ब २२ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको थियो । तर, चालु आर्थिक वर्षमा यस्तो करबापत उठ्ने रकम ७७ दशमलव ९३ प्रतिशतले घटेको सीडीएससीको तथ्यांकमा उल्लेख रहेको छ । चालु आर्थिक वर्षमा सेयर कारोबारबाट सरकारलाई दीर्घकालीन पुँजीगत लाभकर ४९ करोड १५ लाख रुपैयाँ प्राप्त भएको छ ।

त्यसैगरी, अल्पकालीन रूपमा प्राप्त हुने पुँजीगत लाभकर पनि गत वर्षको पुस मसान्तसम्मको तुलनामा घटेको छ । ८७ दशमलव २६ प्रतिशतले घटेको सीडीएससीले जानकारी दिएको छ । यो वर्षको पुस मसान्तसम्म सरकारलाई पुँजीगत लाभकरबापत ७४ करोड ४१ लाख रुपैयाँ प्राप्त भएको छ । गत वर्षको सोही अवधिमा अल्पकालीन पुँजीगत लाभकरबापत पाँच अर्ब ८४ करोड १८ लाख रुपैयाँ प्राप्त भएको थियो ।

Logo